काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकलले अन्तिम स्वीकृति प्रदान गरेको छ । दुबै कम्पनीले मर्जर सम्बन्धी प्रस्ताव वैशाख १६ गते वार्षिक साधारण सभामार्फत पारित गरिसकेका छन् ।
धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाटै एकिकृत कारोबार गर्ने सहमति कम्पनीहरूबीच भएको छ । यी दुवै कम्पनीले हालै मात्र सर्वसाधारणमा आईपीओ निष्काशन गरेका हुन् ।
धौलागिरी लघुवित्तले गत साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो । राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बागलुङ नगरपालिका–२ श्रीनगर टोल, बागलुङस्थित रजिष्टर्ड कार्यालयबाट आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ ।
त्यस्तै खप्तड लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्सकासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्कासन गरेको थियो । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।


















