आन्तरिक तयारी नपुगेका कारण मोर्चा गठनको घोषणा नहुने

107

काठमाडौं । आज समाजवादी मोर्चा घोषणा नहुने भएको छ। दलहरूको आन्तरिक तयारी नपुगेका कारण मोर्चा गठनको घोषणा नहुने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

मोर्चाबारे छलफल गर्न शुक्रबार बिहान बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकपछि नेता खतिवडाले भने, ‘सबै दलहरूको आन्तरिक तयारी भएको छैन। त्यसैले आज घोषणा हुने भनिएको समाजवादी मोर्चा घोषणा हुँदैन।केही समय लाग्छ।’

बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम उपस्थित नभएपछि औ‍पचारिक निर्णय हुन नसकेको उनले बताए। उनले बैठकमा मोर्चामा सामेल हुने र छिटो घोषणा गर्नका लागि पहलकदमी लिने सर्वसम्मत निर्णय भएको बताए।

उनले पार्टीको आन्तरिक तयारी पूरा भइसकेको बताए। नेता खतिवडाले भने, ‘हाम्रो पार्टीको आन्तरिक तयारी पूरा भइसकेको छ। अरू पार्टीहरुको केही कुराहरू पर्खनुपर्ने स्थिति छ। मोर्चा चाँडै घोषणा गर्नेबारे अन्य दलहरूसँग छलफल भइरहेको छ।’

यसअघि नेताहरूले असार १ गते मोर्चा गठन हुने घोषणा गरेका थिए। मोर्चामा दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी सहभागी हुनेछन्।

यसअघि प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा हुँदै नेकपा व्युँताउने घोषणा गरेका थिए। निर्वाचनलगत्तै कम्युनिस्ट पार्टीहरूबीच समाजवादी मोर्चा बनाउने तयारी भएको थियो। तर लामो समयको छलफलपछि चार पार्टीका शीर्ष नेताहरू समाजवादी मोर्चा बनाउन सहमत भएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here