नेपालगञ्जमा खानेपानीको हाहाकार

36

नेपालगञ्ज । हरेक वर्ष अत्यधिक गर्मीको बेला नेपालगञ्ज लगायत वरिपरिका क्षेत्रमा खानेपानीको चरम समस्या हुने गर्छ । यो वर्ष पनि अत्यधिक गर्मी र खडेरीका कारण नेपालगञ्ज र सो वरिपरिका क्षेत्रमा लगाइएका हाते नलको पानी सुकेपछि स्थानीयलाई खानेपानीको समस्या भएको छ ।

नेपालगञ्ज ११ का रिजवान अन्सारीले अत्यधिक गर्मी र पानी नपरेका कारण घरमा जडान गरिएको हेण्ड पम्पको पानी सुकेको बताउनुभयो । उहाँले हातेनलबाट पानी आउन छाडेपछि खानेपानीको समस्या भइरहेको बताउनुभयो । सोही प्रकारले नेपालगञ्ज १२ का राजु धोबीले पनि घरमा खानेपानीको लागि लगाइएको हाते नलको पानी गत केही दिनदेखि सुकेकोले पानीको समस्या भएको बताउनुभयो ।

उहाँहरूजस्तै धेरै स्थानीयको घरमा जडान गरिएका हाते नलबाट अहिले पानी आउन छाडेको छ । पानी नआउँदा धेरैलाई खानेपानीको समेत समस्या भएको उहाँहरूको गुनासो छ ।

वडा नम्बर १२ का धोबीले अधिकांश हाते नलमा मोटर जडान गरिएको भएपनि मोटरले समेत पानी तान्न छाडेको बताउनुभयो । उहाँले खानेपानी संस्थानले वितरण गरेको पानी सबै ठाउँमा नपुगेकोले हाते नलको भरमा मात्र रहेकाहरू अहिले निकै समस्यामा परेको बताउनुभयो ।

सहरी क्षेत्रमा मात्र नभई जिल्लाका ग्रामीण क्षेत्रमा पनि हेण्ड पम्पबाट पानी आउन छाडेपछि किसान र अन्य सर्वसाधारण निकै समस्यामा परेका छन् । राप्तीसोनारी गाउँपालिका ६ का स्थानीय महादेव थारुले गाउँका हेण्डपम्प पनि गर्मीले सुक्न थालेको बताउनुभयो । उहाँले हेण्डपम्प चलाउँदा चलाउँदै पानी आउन छाड्ने गरेको जनाउँदै आवश्यकता अनुसारको पानी नआउँदा समस्या बढ्दै गएको बताउनुभयो ।

यसैगरी नरैनापुर गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रेमचन्द्र मौर्यले पनि आफ्नो क्षेत्रका अधिकांश हेण्डपम्प सुक्न थालेको बताउनुभयो । उहाँले आफ्नो वडाभित्रका अधिकांश हाते नलले पानी दिन छाडेको बताउनुभयो । मौर्यले थप्नुभयो, “डिप बोरिङले समेत अघिल्लो वर्ष जस्तो पानी दिइरहेका छैनन् । गत वर्षको खडेरीबाट डराएका किसानहरू धानको वियाड राख्न डराइरहेका छन्, जेनतेन राखेका किसानको समेत वियाड सुक्न थालेको छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here