पब्जी खेल बन्द गर्न सांसदको माग

90

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले पब्जी खेल बन्द गर्न माग गरेका छन्। आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोलेका उनले सो माग राखेका हुन्।

‘पब्जी गेम तुरुन्त बन्द गरियोस्। आज हाम्रो बालबालिका ‘ठोक ठोक, मार मार’ भन्दाभन्दै पागल जस्तो भएको छ। त्यसैले यो पब्जी गेम तुरुन्त बन्द गरियोस्,’ उनले भने।

युवा तथा बालबालिकालाई यो अनलाइन खेलको लत लागेको र कतिपय आपराधिक क्रियाकलापमा समेत उत्रिने गरेको भन्दै बेलाबखत यो खेलको विरोध हुने गरेको छ।

२०७९ जेठ २६ गतेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद दिल कुमारीले पनि यस्तो माग राखेकी थिइन्। ‘नेपाल सरकारसँग माग गर्न चाहन्छु कि अनलाइन पब्जी खेल बन्द गर्न माग गर्दछु,’ उनले भनेकी थिइन्।

त्यसअघि २०७८ साउन १२ गते सांसद आशाकुमारी विकले पनि यस्तै माग राखेकी थिइन्। ‘पब्जी र फ्रीफायर जस्तो खेलको लतमा फसेका बालबालिका र किशोरकिशोरीमा देखिएको डराउने, झस्किने, जिद्दीपना जस्तो अनौठो बानीले बच्चाको स्वभावले आमाबुवामा परेको तनावको कारण निम्तिने रोगहरूको दृश्य सामान्य लाग्ला’, उनले भनेकी थिइन्, ‘तर, पछि गएर मानसिक रोग अस्पतालको अभाव हुने संकेत देखिएकाले सरकारले तत्काल यो अनलाइन खेलहरू बन्द गरियोस्, नत्र अभिभावक न्याय खोज्दै अदालतको ढोका पुग्ने दिन नआओस् भन्दै सरकारको ध्यानाकर्षण गराउँछु।’

त्यतिबेला पब्जी खेल्न नदिएको झोकमा भारतमा एक १६ वर्षीय किशोरले गोली हानी आफ्नै आमालाई मारेको घटना प्रकाशमा आएको थियो। जसका कारण नेपालमा पनि यसलाई बन्द गर्न आवाज उठेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here