साफ च्याम्पियनसिपमा भारतविरुद्ध नेपालले आज जित्नैपर्ने दबाबमा

35

काठमाडौं । साफ च्याम्पियनसिपमा नेपाल आज दोस्रो खेलमा भारतविरुद्ध उत्रँदैछ। आज साँझ पौने ८ बजे यी दुई टोली श्री कान्तिरवा स्टेडियममा भिड्दैछन्।

समूह ‘ए’बाट सेमिफाइनलमा पुग्नका लागि नेपाललाई जितको दबाब हुनेछ। पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ गोलअन्तरले हारेको थियो। अर्कोतर्फ भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ४-० गोलअन्तरले हराएको थियो।

दक्षिण एसियाको फुटबलमा सबैभन्दा माथिल्लो वरीयताको भारत साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टोली हो। भारत सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा च्याम्पियन बनेको छ।

यसपाला पनि साफअघिको भारतको लय लोभलाग्दो छ। अघिल्लो साता चार टोली सहभागी रहेको इन्टरकन्टिनेन्टल कपको च्याम्पियन बनेको भारत पछिल्ला ७ खेलमा अपराजित छ।

२०२२ को सेप्टेम्बरमा भियतनामसँग ३-० गोलअन्तरले हार ब्यहोरेयता ७ खेलमा ६ जित र एक बराबरी खेलेको छ। यसक्रममा भारतले म्यानमार, किर्गिस्तान, मंगोलिया, भानुआटू र पाकिस्तानलाई हराउँदा लेबनानसँग एक जित र एक बराबरी खेलेको छ।

फिफा वरीयतामा भारत १०१औँ स्थानमा छ, अर्थात नेपाल भन्दा ७३ स्थान अगाडि। त्यस्तै, नेपालले भारतसँग २३ खेल खेल्दा १६ हार २ जित र ५ बराबरी खेलेको छ।

अर्कोतर्फ नेपाल फिफा वरीयताको १७४औँ स्थानमा छ। आमन्त्रित टोली कुवेतसँग ३-१ गोलले पराजित भएको नेपाल दक्षिण एसियाली शक्ति भारतसँग प्रतिस्पर्धामा उत्रिन लागेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here