एजेन्सी । रुसमा देखिएको आकस्मिक संकटका बीच संयुक्त राज्य अमेरिका आफ्ना सहयोगीहरूको निकट समन्वयमा रहने विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन्।
क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलाइत र युरोपेली संघका विदेशमन्त्रीहरूसँग कुराकानी गर्दै उनले अमेरिका ‘निकटको समन्वयमा रहने बताएका हुन्।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले शनिबार विज्ञप्ति जारी गर्दै मन्त्री ब्लिन्केनले क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र युनाइटेडका विदेशमन्त्रीहरूसँग यस विषयमा कुरा गर्नु भएको पुष्टि गरेका छन्।
‘मन्त्री ब्लिन्केनले युक्रेनका लागि संयुक्त राज्य अमेरिकाले गर्दै आएको समर्थन परिवर्तन नहुने कुरा समेत दोहोर्याए छन्। नयाँ घटनाक्रम विकसित हुँदै जाँदा संयुक्त राज्य अमेरिका आफ्ना सहयोगी र साझेदारहरूसँग नजिकको समन्वयमा रहनेछ’, विज्ञप्तिमा भनिएको छ।
वाग्नर लडाकु प्रमुख येभगेनी प्रिगोजिनले टेलिग्राम पोस्टमा विद्रोहको घोषणा गरेपछि अमेरिकाको यो टिप्पणी सार्वजनिक भएको हो।
लडाकु प्रमुखले लडाकुहरू युक्रेनबाट रुसी सेनाको विरूद्ध दक्षिणी रुसतर्फ सीमा पार गर्दै अगाडि बढेको बताएका थिए।
यसै बीच उनले आफ्ना लडाकुले आफ्नो बाटोमा अवरोध गर्ने जो कोहीलाई नष्ट गर्ने घोषणा पनि गरेका थिए। उनले भनेका छन्, ‘हामी अगाडि बढिरहेका छौँ र अन्त्यसम्म बढ्नेछौँ।’
वाग्नर लडाकुहरू रुसको रोस्तोभ शहर प्रवेश गरिरहेको बताइएको छ।
उनले चेकपोइन्टहरूमा कुनै प्रतिरोध नभएको र आफ्ना लडाकुहरू ‘बालबालिका विरुद्ध’ भने नलडेको पनि दाबी गरेका छन्।
प्रिगोजिनको सो अभिव्यक्तिपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै वाग्नर समूहको ‘सशस्त्र विद्रोह’ ‘पिठमा छुरा धस्ने देशद्रोहको बाटो’ भएको टिप्पणी गरेका छन्।
उनले रुसी सेनाका विरुद्ध सशस्त्र विद्रोह गर्ने देशद्रोहीहरूलाई कडा कारबाही गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। रासस


















