काठमाडौं । युवा तथा खेलकुमन्त्री एवं नेपाली कांग्रेसका नेता डिगबहादुर लिम्बूले कोशी प्रदेशको नाम सच्याउनुपर्ने जनाएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्।
उनले नामकरणपछि कोशी प्रदेशमा समस्या उत्पन्न भइरहेको भन्दै यो समस्यालाई रोक्न आवश्यक रहेको जनाए। उनले प्रदेशको नाम पुनर्विचार गर्नुपर्छ भनेर पार्टीको ध्यानाकर्षण गराएको पनि जनाए।
उनले नेपाली कांग्रेसको गतिविधि शून्य रहेको बेलामा विभिन्न राजनीतिक पार्टीहरु च्याउजस्तै उम्रिएको जनाए। उनले पार्टीको रुचिमा नपरेको मन्त्रालय आफूलाई दिइए पनि पर्याप्त बजेट नदिएको प्रति असन्तुष्टि व्यक्त गरे।
उनले युवा तथा खेलकुद मन्त्रालयमा गाडीमा तेल हालेर हिँड्ने पैसासमेत नभएको दाबी गरे।
उनले भने, ‘अहिले कोशी प्रदेशमा समस्या उत्पन्न भएको अवस्था छ। त्यो विषयमा केन्द्रीय सभापतिज्यू र केन्द्रीय नेताहरु अनविज्ञ हुनुहुन्न। त्यो विषय त्यहाँका सांसद साथीहरुले उठाउनुभएको छ। त्यहाँ कांग्रेसमा आबद्ध साथीहरुलाई तपाईंहरू पहिचानविरोधी हो? तपाईहरु संघीयताविरोधी हो कि होइन, होइन भने प्रदेश १ को नाम राख्ने बेलामा जबरजस्ती रातारात किन कोशी प्रदेश राख्नुभयो भनेर हामीले फोनमा भनेका थियौँ। यो पुनर्विचार गर्नुपर्छ भनेर हामीले पार्टीको ध्यानाकर्षण गराएका छौँ। पार्टी के भन्छ सभापतिज्यूले भन्नुहोला। जनताको भावनाअनुसार जनताका कुरा सम्बोधन हुनेकुरा पार्टीभित्र आवाज उठ्छ कि उठ्दैन? पार्टीभित्र छलफल र बहस गरेर जनताको बीचमा जानुपर्छ।’
मन्त्री लिम्बूले अहिले नेपाली कांग्रेसको गतिविधि सुस्त भएको भन्दै जनतासमक्ष पार्टीका गतिविधि लैजान पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरे।


















