काठमाडौँ । यो साता सेयर बजारका लागि निकै उत्साहपूर्ण बन्यो । चार दिन कारोबार भएको यस साता नेप्से सूचक ९५.४६ अङ्कले बढ्दै २१ सय ५०.९९ अङ्कको विन्दुमा उक्लिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् असार ७ गते ४.७५ अङ्कले बढ्दै २ हजार ५०.७८ अङ्कको बिन्दुमा रोकिएको सेयर बजार परिसूचक नेप्से यस साताको पहिलो कारोबार दिन नै ६२.२१ अङ्कले बढ्न पुगेको थियो ।
२३ अर्बमाथिको कारोबार
यो साता नेप्से सूचकसँगै कारोबारमा समेत बढेसँगै यता मार्केट क्यापिटलाइजेशन (धितोपत्र बजारको पुँजीकरण) समेत बढेको छ । यो साता कूल १ खर्ब ३९ अर्ब ७० करोड २० लाख रुपैयाँले मार्केट क्यापिटलाइजेशन बढ्दै ३१ खर्ब ५० अर्ब १३ करोड ४० लाख रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । अघिल्लो साता यस्तो मार्केट क्यापिटलाइजेशन २४ अर्ब २३ करोड १० लाख रुपैयाँले बढ्दै ३० खर्ब १० अर्ब ४३ करोड १० लाख रुपैयाँ कायम भएको थियो ।


















