चर्चित रकस्टार रविन तामाङको निधनमा नेपाली संगीत क्षेत्र स्तब्ध

32

काठमाडौं । चर्चित रकस्टार तथा अभिनेता रविन तामाङको निधनमा नेपाली संगीत र फिल्म क्षेत्र स्तब्ध बनेको छ । मंगलबार राती निधनको खबरसँगै यो क्षेत्र शोकमा डुबेको छ ।

संगीतकर्मी, अभिनेता, सांसद र हितैषीले सामाजिक संजालमार्फत तामाङसँगको क्षण स्मरण गर्दै श्रद्धासुमन व्यक्त गरिरहेका छन् । रकस्टार अभया सुब्बाले रविनको निधनलाई एक युगको अन्त्य भएको बताएकी छन् ।

उनी भन्छिन्, ‘यो एक युगको अन्त्य हो । उहाँ मैले चिनेको सबैभन्दा राम्रो रकस्टार हुनुहुन्थ्यो । उहाँसँग मेरो धेरै यादहरू छन् । यो कुरा धेरै नराम्रोसँग दुख्छ । तपाईंले मेरो लागि गरेको सबै कुराको लागि धन्यवाद दाई । मलाई थाहा छ तपाईं शान्त हुुनुहुन्थ्यो । हामी सबै तपाईंको आभाको वरिपरि हुन पाउँदा धन्य थियौं । यो मैले उहाँसँग खिचेको अन्तिम फोटो हो । रेस्ट इन पिस । तपाईंले हामी सबैलाई ईमानदारीपूर्वक माया र सम्मान गर्नुभयो ।’

सबैभन्दा पहिलो पपगायक सविन राईले रविनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै फेसबुकमा स्टाटस लेखेका थिए ।

उनी निकट अभिनेता कार्मले गायक तामाङसँगको पछिल्लो भेटको क्षणलाई स्मरण गर्दै तस्वीर सेयर गरेका छन् । रेड पिटरको अन्तिम शोका लागि पछिल्लोपटक बज्र नाटक घरमा भेटेको र आगामी साता पेरिसमा भेट्ने योजना बनाएको उनले उल्लेख गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्धय सुमना श्रेष्ठ र असिम शाहले पनि तामाङको निधनमा शोक व्यक्त गरेका छन् । ‘रविन दाई तपाईंलाई हामी एकदमै मिस गर्छौ । रबिन दाईले नेपालको संगीत क्षेत्रमा एक युगलाई परिभाषित गर्नुभयो । हामीले एक प्रतिभाशाली संगीतकार र रत्नलाई गुमायौं’ सांसद श्रेष्ठ लेख्छिन् ।

हरिवंश आचार्य, निमा रुम्बा, संजय श्रेष्ठ, राजेशपायल राई, मंगोलियन हार्ट, कबवेभसहितका कलाकार र ब्याण्डले पनि रविनको निधनमा सामाजिक संजालमार्फत समवेदना व्यक्त गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here