राहत तथा पुनर्स्थापना सामग्री तयार

52

काठमाडौं। मनसुनजन्य बाढीपहिरो, आगलागी, भूकम्प, महामारीलगायतका विपत्मा परेका व्यक्तिको तत्काल खोज, उद्धार तथा पुनर्स्थापना र राहत वितरणका लागि सरकारले देशभरका प्रमुख ११ स्थानमा पूर्वतयारी सामग्री तयारी अवस्थामा राखेको छ ।

गृह मन्त्रालयले विपत्मा परेका नागरिकलाई उद्धार गर्न तथा राहत व्यवस्थापनका लागि काठमाडौँ, विराटनगर, वीरगन्ज भैरहवा, सुर्खेत, नेपालगन्ज, धनगढी, तेह्रथुम, महोत्तरी, बैतडी तथा जुम्लामा मानवीय सहायता स्थल स्थापना गरी पुनर्स्थापनाका लागि आवश्यक बन्दोबस्ती सामग्री तयारी अवस्थामा राखेको जनाएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको मानवीय सहायता स्थलको निरीक्षण गरी सम्भावित विपत्का आवश्यक पूर्वतयारीको जानकारी लिए ।

उनले विपत् जुनसुकै बेला जस्तोसुकै अवस्थामा आउन सक्ने भएकाले राहत तथा पुनस्र्थापनाका लागि आवश्यक सामग्रीसहितको जनशक्ति सरकारले देशभर तयारी अवस्थामा राखेको जानकारी दिए।

गृहमन्त्री श्रेष्ठले भने, “विपत्को जोखिमलाई कम गरी मानवीय क्षतिलाई न्यूनीकरण गर्न दातृ निकाय तथा सरोकारवाला सङ्घ संस्थासँग गृह मन्त्रालयले समन्वय र सहकार्य गरी काम गरिरहेको छ । विपत्को जोखिममा परेका व्यक्तिलाई तत्काल उद्धार तथा राहतका लागि बन्दोबस्ती सामग्रीसहितको टोली पूर्वतयारी अवस्थामा राखिएको छ ।”

उनले विगतमा भएका विपत्का बेलाको अनुभवबाट पाठ सिकेर कमजोरी नदोहोरिने गरी तत्काल राहत तथा उद्धारमा परिचालन हुने गरी यस पटक संयन्त्र तयारी अवस्थामा रहेको बताए।

उनले मनसुन सुरु भएपछि ताप्लेजुङको हेवा खोलामा रहेको पुल बाढीले बगाएपछि २४ घण्टाभित्रै बेलिब्रिज जडान गरी सडक सुचारु गरिएको बताउँदै विपत्को पूर्वतयारी गरिएका कारण तत्काल सडक सञ्जाल सुचारु गर्न सम्भव भएको बताए। पूर्वदेखि पश्चिमसम्मका विभिन्न स्थानमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि आवश्यक सामग्रीसहितको टोली उच्च सतर्क अवस्थामा रहेको उनको भनाई छ ।

विपत् जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउन सरकारले राष्ट्रिय प्रतिकार्य कार्यढाँचा,२०७५ तयार गरी विभिन्न ११ वटा मन्त्रालय सहभागी रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण कार्ययोजना तयार गरेको थियो ।

गृह मन्त्रालयले संयोजन र समन्वय गर्ने गरी तयार भएको संयन्त्रमा मानवीय सहायतामा काम गरिरहेका विभिन्न सरकारी तथा गैरसरकारीलगायत विदेशी दातृ निकायको समेत सहभागिता छ । सम्भावित विपत्का बेला बन्दोबस्ती तथा राहत सामग्री वितरणको समन्वय संयुक्त राष्ट्रसङ्घ अन्तर्गत विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले गरिरहेको छ । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here