काठमाडौं । मिटरब्याजविरुद्धको कानुन पारित गर्न माग गर्दै मिटरब्याज पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।
आइतवार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मिटरब्याजपीडितहरूले प्रदर्शन गरेका हुन्। मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक निष्क्रिय भएको छ।
संविधानअनुसार अध्यादेश जारी भएको ६० दिनभित्र संसद्बाट पारित नभए निष्क्रिय हुन्छ। कानुन निष्क्रिय भएसँगै मिटरब्याजपीडितहरूले कानुन पारित हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन्। मिटरब्याज पीडित रेखा साहले तीनवटा पार्टीहरू मिलेर मिटरब्याजविरुद्धको कानुन पारित हुन नदिएको आरोप लगाइन्।
उनले संसद्बाट मिटरब्याजविरुद्धको कानुन पारित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिइन्। उनले मिटरब्याज पीडितले न्याय नपाएसम्म सडक आन्दोलन गरिरहने बताइन्।
उनले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपाल गरी तीन पार्टी मिलेर कानुन पास हुन नदिएको आरोप लगाइन्।
पीडितहरूले सरकारले माग सम्बोधन गर्न छानबिन आयोग बनाएर पनि कारबाही गर्न बनेको कानुन निष्क्रिय भएसँगै मिटरब्याजीहरू चलमलाएको बताए।
उनीहरूले मिटरब्याजीहरू घरघरमा गएर गाली बेइज्जती गर्न थालेको बताए। पीडितहरूले सरकारले दिएको ललिपपले मान्ने अवस्था नरहेको बताए।

















