ठगी गरेको आरोपमा ६ जना पक्राउ

54

काठमाडौं । फकाउँदै डान्सबार पुर्‍याएर ठगी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त गौशालाको टोलीले ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा कैलालीको धनगढी उपमहानगरपालिका–४ घर भई काठमाडौं माछापोखरी बस्ने २३ वर्षीय अर्जुन कुँवर, काभ्रे मन्दनदेउपुर नगरपालिका–९ घर भई सिनामंगल बस्ने ३१ वर्षीय सुभकुमार तामाङ, सुनसरीको रामधुनी नगरपालिका–७ घर भई चाबहिल बस्ने ४० वर्षीय इन्द्र काफ्ले, धादिङको खनेबास गाउँपालिका–१ घर भइ सिनामंगल बस्ने २२ वर्षीया सुमिना तामाङ, मकवानपुरको राक्सीराङ गाउँपालिका–२ घर भई माछापोखरी बस्ने २२ वर्षीया रिया साह ठकुरी र धादिङको खरियाबास गाउँपालिका–१ घर भई माछापोखरी बस्ने २० वर्षीया आस्मा तामाङ छन्।

उनीहरुले काठमाडौं तगा पशुपतिनाथ दर्शन गर्न आएका भारतीय पर्यटकहरुलाई फकाउँदै डान्सबार पुर्‍याएर ठगी गर्ने गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। असार २५ गते थानकोटा नाकाबाट काठमाडौं छिरेका भारतीय पर्यटक बोकेको गाडीलाई पिछा गर्दै खान-बस्न राम्रो व्यवस्था गरिदिने र सहज रुपमा घुमाइदिने भन्दै प्रलोभन देखाएर डान्सबार पुर्‍याई ठगी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालले जानकारी दिए।

भारतीय पर्यटकलाई रातोपुलस्थित ज्याक डेनिस डान्सबार पुर्‍याएर महिला कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोप लगाउँदै धम्की दिने र रकम असुल्ने गरेको पाइएको प्रहरीले जनाएको छ। यो समूहले भारतीय पर्यटकको ३३ हजार रुपैयाँ समेत लुटपाट गरेको पाइएको छ।

पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक विश्वासघातको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here