जरायो मारेको आरोपमा यी व्यक्ति पक्राउ

49

 

सुर्खेत । सुर्खेतको काँक्रेविहारमा जरायो मारेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर-९ स्थित नयाँगाउँ क्षेत्रमा जरायो मारेर मासु भागवन्डा गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

गोप्य सुचनाका आधारमा बुधबार बिहान पासोमा पारेर जरायो मारेर भाग लगाइरहेको अवस्थामा उनीहरूलाई घटनास्थलबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर-१० का ५२ वर्षीय डम्मरबहादुर थारु, उनका छोरा अन्दाजी २१ वर्षीय सुशील चौधरी, २८ वर्षीय आशाराम चौधरी र वीरेन्द्रनगर ११ का ४१ वर्षीय मिनबहादुर वली रहेको प्रवक्ता शाहीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही हुने जिल्ला वन कर्यालय सुर्खेतले जनाएको छ ।

काँक्रेविहारको वन क्षेत्रलाई २०५९ सालमा पहिलो संरक्षित वन क्षेत्र घोषणा गरिएको थियो । काँक्रेविहार वन क्षेत्रमा बासस्थान भएका दुर्लभ वन्यजन्तु जरायो, बँदेल, खरायो, मृग, स्यालजस्ता जनावर र मयुर, कालिजलगायतका चराचुरुङ्गी छन् ।

संरक्षणका लागि सशस्त्र वन रक्षकको पोष्ट खडा गरिएको छ भने टोलटोलमा संरक्षण समिति बनाइएको छ । तर, वन क्षेत्रको उचित घेराबार तथा संरक्षणको जिम्मेवारी पाएका निकाय चनाखो नहुँदा वन्यजन्तु र चराचुरुङ्गीको चोरी शिकार बढिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here