नेपालमा डिजिटल सेवा उपलब्ध गराउने कम्पनीले पहिलो पटक तिरे कर

52

काठमाडाैं । नेपालमा डिजिटल सेवा उपलब्ध गराउने गैरबासिन्दा व्यक्ति तथा कम्पनीले पहिलो पटक कर तिरेका छन् । नेपालमा कम्पनी, कार्यालय र भौतिक उपस्थिति नै नभएका तर आर्थिक कारोबार गर्ने गुगल, फेसबुकको मातृ कम्पनी मेटा, युट्युब, टिकटकलगायतका नौ वटा कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएर पहिलो पटक कर तिरेका हुन् ।

यही असारको २५ गतेसम्म नौ वटा कम्पनीमध्ये केहीले नौ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) तिरेका आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले उज्यालोलाई जानकारी दिनुभयो । चालु आर्थिक वर्षदेखि सरकारले आर्थिक ऐनमा नै व्यवस्था गरेर नेपालमा कारोबार गर्ने गैरबासिन्दा व्यक्ति तथा कम्पनीले कर तिर्नुपर्ने व्यवस्था गरेको थियो । ऐनअनुसार गुगल, फेसबुक, युट्युबलगायतका कम्पनीले नेपालबाट गरेको कारोबारको दुई प्रतिशतका दरले विद्युतीय सेवा कर (डीएसटी) तिर्नुपर्छ ।

यो व्यस्थालाई कार्यान्वयन गर्न विभागले छुट्टै निर्देशिका र सफ्टवेयर बनाएर कम्पनीहरूलाई सहजीकरण गरिदिएको महानिर्देशक मैनालीले बताउनुभयो । विभागले सहजीकरण गरेपछि कम्पनीहरूलाई नेपालमा नै आउन नपर्ने गरी अनलाइन स्थायी लेखा नम्बर (प्यान) उपलब्ध गराएको र कर पनि डलर खातामा विदेशबाटै तिर्न मिल्ने व्यवस्था मिलाएको उहाँको भनाइ छ ।

नेपालमा कम्पनी नै नभएका र सम्पर्क व्यक्ति नै नभएका कम्पनीलाई कर तिराउन सक्ने बनाउनु ठूलो सफलता भएको मैनाली बताउनुहुन्छ । विश्वभर डिजिटल सेवा उपलब्ध गराउने बहुराष्ट्रिय कम्पनीलाई नेपालको कर प्रणालीबारे जानकारी गराएर उनीहरूको कार्यालय भएकै देशबाट कर तिर्ने व्यवस्था मिलाएर नेपालले विदेशी अरू लगानीकर्ताको पनि ध्यान तान्न सफल भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here