काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन्।
बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेतगरी ७ स्थानमा राजदूत पद रिक्त रहेको बताए।
उनले राजदूत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेको बताए। राजदूत नियुक्ति ५० प्रतिशत परराष्ट्र भित्रबाट र ५० प्रतिशत परराष्ट्र बाहिरबाट गरिने भन्दै उनले नियुक्ति प्रक्रिया तत्काल टुंगिने बताए।
उनले भने, ‘हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेत गरी ७ स्थानमा राजदूत पद रिक्त रहेको छ। राजदूत नियुक्तिमा सरकारले परराष्ट्र भित्रबाट ५० प्रतिशत र परराष्ट्र बाहिरबाट ५० प्रतिशत गर्ने कार्यविधिको प्रावधान छ। सोही कार्यविधि अनुसार नियुक्त गर्ने सम्बन्धमा उच्च तहमा छलफल भइहेको छ। यो प्रक्रिया तत्काल टुंगिनेछ भन्ने विश्वास दिलाउन चाहन्छु।’
मन्त्री साउदले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्दारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरुले उच्च प्राथमिकता राखेका बताए। विदेशमा रहेका नेपालीहरुको हक, हीतको सुरक्षा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन विदेशस्थित नेपाली नियोगहरुको भूमिकालाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिवद्ध रहेको उनले बताए।
मन्त्री साउदले नियोगहरुलाई साधन, स्रोत सम्पन्न बनाउँदै लगिने प्रतिबद्धता व्यक्त गरे।


















