पेट्रोलिपय पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय

52
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिपय पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिले आइतबार मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

यो प्रणालीमा निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ । खाना पकाउने एलपी ग्याँसको मूल्यमा भने निगमले नाफा नराख्ने निर्णय गरेको छ ।

निगम सञ्चालक समितिका अध्यक्ष एवम् वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले भने, ‘स्वचालित मूल्य प्रणली लागू भएपछि परल मूल्य बढ्दा बिक्री मूल्य पनि बढ्छ ।’

निगमका अनुसार यसपटक पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ । पेट्रोल लिटरमा ६ रुपैयाँ, डिजेल र मटीतेलमा समान ४/४ रुपैयाँ मूल्य घट्ने छ भने ग्याँसमा प्रतिसिलिण्डर १० रुपैयाँ घट्नेछ ।

अब काठमाडौं उपत्यकासहितका क्षेत्रमा पेट्रोल लिटरको १६४ रुपैयाँ पर्नेछ । तराईका जिल्लाहरुमा १६१ रुपैयाँ ५० पैसा र भित्री मधेशमा १६३ रुपैयाँ पर्नेछ ।

डिजेल र मटीतेल उपत्यकामा लिटरको १४६ रुपैयाँ, तराईका जिल्लाहरुमा १४३ रुपैयाँ ५० पैसा र भित्री मधेसमा १४५ रुपैयाँ पर्नेछ ।

एलपी ग्याँसको प्रतिसिलिण्डर मूल्य १८०० रुपैयाँबाट घटेर १७९० रुपैयाँ कायम भएको छ । हवाई इन्धनको मूल्य भने स्वचालित हुने छैन । यो निगम सञ्चालक समितिले तोकेअनुसार हुने नियमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए ।

सीमा मूल्यको अन्तर हेर्दा भारतको रक्सौलमा भन्दा वीरगञ्जमा पेट्रोल प्रतिलिटर १३.२७ रूपैयाँ सस्तो पर्ने छ । मटीतेल र डिजेलमा प्रतिलिटर ९.९४ पैसा सस्तो पर्ने छ । हवाई इन्धन अन्तर्गत आन्तरिक तर्फ २३.८१ सस्तो पर्ने छ भने बाह्य इन्धनमा भने केही महँगो पर्ने निगमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here