काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले प्रायोजन गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युनिलिभरसँग प्रायोजनसम्बन्धी सम्झौता गरेको हो । युनिलिभरले राष्ट्रिय महिला फुटबल टोलीलाई वार्षिक २५ लाख रुपैयाँको प्रायोजन गर्ने छ ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको उपस्थितिमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र युनिलिभर नेपालका प्रबन्ध निर्देशक आमलाल मुखर्जीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
एन्फा अध्यक्ष नेम्वाङले महिला फुटबलको विकासमा युनिलिभरको सहयोगका लागि धन्यवाद दिए भने नेपालको महिला फुटबल टोलीको विकास र विश्वकप खेल्ने लक्ष्यलाई सम्झौताले पद्दत गर्ने युनिलिभरका प्रबन्ध निर्देशक मुखर्जीले बताए ।
त्यसैगरी, राष्ट्रिय महिला टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले युनिलिभरलाई धन्यबाद दिदैँ यस सम्झौताले महिला सशक्तिकरणमा सहयोग तथा महिला फुटबल खेलाडीलाई हौसला दिने बताइन् । नेपालको महिला फुटबल टिम भर्खरै बंगलादेशमा दुई मैत्रीपूर्ण सिरिजको उपाधि जितेर फर्किएको हो ।


















