सुन प्रकरणको अनुसन्धान स्वतन्त्र र निष्पक्ष हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

57

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक सय किलो सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष ढंगले निष्कर्षमा पुग्ने गरी हुने बताउनुभएको छ ।

उहाँले यस्ता घटनाहरुबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र निर्दोष नफसून भनेर सम्बन्धित निकायलाई निर्देशन दिइसकेको स्मरण गराउनुभयो ।

बिहीबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सुरक्षा निकायका पूर्व उच्च अधिकारीसँगको छलफलपछि गृहमन्त्री श्रेष्ठले दोषीलाई छिट्टै कानुनको दायरामा ल्याउने गरी अनुसन्धानको कामलाई अघि बढाइएको बताउनुभयो ।

उहाँले अध्यागमन विभागमा प्रहरीको उपस्थितिलाई सुनिश्चित गर्ने विषयमा आफूले यस अघि पनि छलफल गरेको र त्यसलाई छिट्टै निष्कर्षमा पु¥याउने आश्वासनसमेत दिनुभयो ।

अर्थ मन्त्रालयसँग समन्वय गरेर सो कामलाई अघि बढाउने गृहमन्त्री श्रेष्ठको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘‘यो विषय अहिले त्यति चर्चा गर्न उपयुक्त ठान्दिनँ । तर तथ्य के हो भने आगमन पछाडि प्रहरीको कुनै ठाउँमा भूमिका हुँदैन । त्यहाँ कष्टम क्लिअरेन्समा पनि हुँदैन । त्यसकारण हाम्रो छलफल पहिला देखिनै सुरु भएको थियो । कष्टममा पनि क्लिअरेन्समा प्रहरीको भूमिका हुने गरी व्यवस्थापन गर्न उचित हुन्छ भनेर हामीले यसभन्दा अगाडि नै प्रस्ताव राखिराखेका छौं । यो घटनाको सन्दर्भलाई लिएर कसैलाई जिम्मेवारी थोपर्ने ढंगले छलफल गर्नु उचित छैन । खाली हाम्रो कामलाई अझ प्रभावकारी ढंगले सम्पादन गर्नुपर्छ । यो घटनाको अनुसन्धानलाई हामी गम्भीरतापूर्वक अगाडि बढाउँछौं । अनुसन्धान जुनसुकै निकायले गर्नुपर्ने भए पनि स्वतन्त्र, निष्पक्ष ढंगले निष्कर्षमा पुग्छ ।’’

गृहमन्त्री श्रेष्ठले गृह मन्त्रालयको समग्र क्षेत्रको पुनर्संरचना गरेर सुशासन कायम गर्नका लागि आफूले एउटा कार्यदल नै बनाउने घोषणा गरिसकेको बताउनुभयो । गृहमन्त्री श्रेष्ठले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय अन्तरगत ल्याउने विषयमा पनि छलफल भइरहेको बताउनुभयो । GOrkha patra

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here