मोतियाविन्दुको शल्यक्रिया गरेर १ हजार ९ सय जनाले नयाँ दृष्टि पाए

44

घोराही । उज्यालो अभियानअन्तर्गत एक वर्षमा एक हजार ९ सय जनाले नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले स्थानीय सरकारसँग आर्थिक वर्ष २०७९-०८० मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रमअन्तर्गत एक वर्षको अवधिमा एक हजार आठ सय ९९ जनाको मोतियाविन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको हो ।

मोतियाविन्दुका कारण अन्धोपन हुनु नपरोस् भन्ने उद्देश्यले नेपाल सरकारको स्वास्थ्य नीतिलाई समेत सहयोग पुर्याउने उद्देश्यले पालिकासँग निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता गरी उज्यालो अभियान सञ्चालन गरिएको प्रमुख प्रशासक शम्शेर थापाले जानकारी दिनुभयो । उहाँले पैसाको अभावमा कोही पनि नागरिकले अनाहकमा आँखाको ज्योति गुमाउन नपरोस् भन्ने उज्यालो अभियानको मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रमको उद्देश्य भनेको पैसाको अभावमा कसैले पनि आँखाको ज्योति गुमाउन नपरोस भन्ने हो ।”

उज्यालो अभियानअन्तर्गत राप्ती आँखा अस्पताल रक्षाचौरले दाङका तुलसीपुर उपमहानगरपालिकामा २ सय ५९ जना, घोराही उपमहानगरपालिकामा एक सय ८७ जना, शान्तिनगर गाउँपालिकामा ८९ जना, बबई गाउँपालिकामा ४९ जना र दंगीशरणमा एक सय मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको राप्ती आँखा अस्पताल रक्षाचौरका बाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार लमही आँखा अस्पतालले लमही नगरपालिकाभित्रका चार सय ७ जना, गढवा गाउँपालिकामा ३ सय १० जना र रापजपुर गाउँपालिका वडा नं ३ ले ५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको छ ।

लमही आँखा अस्पतालले प्युठानको सरुमारानी गाउँपालिकामा समेत साझेदारीमार्फत् ४९ जना, छन्दकालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जले कृष्णनगर नगरपालिकाका वडा नंं. ३ देखि १२ वडा सम्ममा २ सय ५५ जना, बुद्धभूमि नगरपालिकामा सय जना र शिवराज नगरपालिकामा ८० जना मोतियाविन्दुका बिरामीको आँखा शल्यक्रिया गरिएको छ ।

अभियानले दृष्टिविहिनताको न्यूनीकरण हुनुका साथै उज्यालो अभियानले आर्थिक अभाव तथा अन्य कारणले घरमै दृष्टिविहीन भएर बसेकालाई सहज भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी बताउनुहुन्छ । अध्यक्ष गिरीले भन्नुभयो, “हामीले हुनेसँग लिने र नहुनेलाई आँखा उपचार सेवा दिने हो, त्यसमा पनि स्थानीय सरकारसँग आँखा स्वास्थ्य सेवामा साझेदारी गरेर अगाडि बढऔँ भन्ने हाम्रो उद्देश्य हो ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here