उक्त समुदाय र अन्तर्राष्ट्रिय जगत्ले लोकतन्त्रको रक्षा गर्न तथा यस क्षेत्रमा लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउन हरसम्भव प्रयास गर्ने नाइजेरियाका राष्ट्रपति एवम् पश्चिम अफ्रिकी राष्ट्रहरूको आर्थिक समुदायका अध्यक्ष बोला टिनुबुले एक विज्ञप्ति निकालेर बताको छ । नाइजरमाथि प्रतिबन्ध लगाउने अधिकार उक्त समुदायमा निहित छ । पन्ध्र सदस्यीय समुदायको नाइजर पनि एक सदस्य हो ।
आइतवारको अबुजामा समुदायको बैठक हुनुअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नाइजरको अवस्थाप्रति गहिरो चासो व्यक्त गर्दै राष्ट्रपति टिनुबुसँगको टेलिफोन वार्तामा त्यहाँ संवैधानिक व्यवस्था पुनर्स्थापना गर्न राष्ट्रपति टिनुबुको निरन्तर प्रयासमा अमेरिकाले सघाउने प्रतिबद्धता व्यक्त गरे ।
नाइजरका छिमेकी माली र बुर्किना फासोले २०२० यता दुईवटा असफल सैन्य विद्रोह झेलिसकेका छन् । इस्लामिक स्टेट समूह र अल–कायदासँग सम्बन्धित जिहादीहरूद्वारा लामो समयदेखि चलिरहेको विद्रोह अन्त्य गर्न असफल भएकोमा दुवै देशका नागरिक क्रुद्ध भएका छन् ।
जनरल टियानीले पनि जहादीहरूद्वारा लामो समयदेखि चलिरहेको विद्रोह अन्त्य गर्न असफल भएको, भ्रष्टाचार र आर्थिक समस्या बढेका तथा सुरक्षा व्यवस्थामा भएको ह्रासलाई सम्बोधन गर्न सत्ता हातमा लिएको बताएका छन् ।
अफ्रिकी सङ्घ तथा अन्य अन्तरराष्ट्रिय संस्था, नाइजरका सहयोगी जर्मनी संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ, फ्रान्सलगायत देशका साथै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सैन्य विद्रोहको निन्दा गर्दैै राष्ट्रपति बाजुमलाई अविलम्ब रिहा गर्न आह्वान गरेका छन् ।
भूपरिवेष्टित राष्ट्र नाइजर विश्वकै निर्धनतम राष्ट्रमध्येको एक हो । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएपछि चारपटक यस्ता विद्रोह भइसकेका छन् । राष्ट्रपति बाजुमविरुद्ध पनि दुई पटक विद्रोह भएको छ । रासस


















