हेटौँडा । बागमती प्रदेश सरकार मातहतका ७ अस्पताललाई शवबाहन हस्तान्तरण गरिएको छ । प्रदेश सरकारले एक कार्यक्रमका बीच आइतबार बागमतीका सिन्धुपाल्चोक, रामेछाप, दोलखा, रसुवा, नुवाकोट, सिन्धुली र चितवनको प्रादेशिक अस्पताललाई शवबाहन हस्तान्तरण गरेको हो।
शवबाहन प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सम्बन्धित अस्पतालका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेका थिए । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका लेखा अधिकृत राधाकृष्ण श्रेष्ठका अनुसार मन्त्रालयबाट स्वीकृत कार्यक्रमअनुसार आर्थिक वर्ष २०७९/८० मै खरिद गरिएको शवबाहन प्रादेशिक अस्पतालहरूलाई हस्तान्तरण गरिएको हो ।
भन्सार छुटमा खरिद गरिएको सात वटा शववहान टेण्डर मार्फत कुल एक करोड ८ लाख ६५ हजार रुपैयाँ लागतमा बितेको आर्थिक वर्षको कार्यक्रम अन्तरगत खरिद गरिएको श्रेष्ठले बताए ।
कार्यक्रममा बोल्दै मन्त्री जोशीले नागरिकहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा सबै निकायहरू गम्भीर हुनु पर्ने बताए ।
उनले गुनासो रहित सेवामा सबैले जोड दिएर उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गर्दै नागरिकको स्वास्थ्य सेवा सम्बन्धी अधिकार सुनिश्चित गर्नुपर्ने बताए । सरकारले दिएका शवबहानहरु नागरिकहरूको सहजता हुने गरी निस्शुल्क रूपमा प्रयोग गर्ने वातावरण मिलाउन अस्पतालहरूलाई निर्देशन दिए ।


















