माओवादी विधान सम्मेलन तयारी

26

वीरेन्द्र ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी मङ्सिरमा विधान सम्मेलन गर्ने गरी गृहकार्य थाल्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पार्टी पदाधिकारी बैठकले मङ्सिरमा विधान सम्मेलन गर्ने गरी केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको हो।

पार्टीका उपमहासचिव वर्षमान पुनले बुधबारदेखि पाँच दिनसम्म सञ्चालन हुने केन्द्रीय समिति बैठकलाई प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको बताउनुभयो। काठमाडौँको प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक बस्नेछ।

पार्टी विधि र विधानबमोजिम सञ्चालन गर्न माओवादीले पहिलो पटक विधान सम्मेलन आयोजना गर्न लागेको हो। “पार्टीलाई विधि र विधान अनुसार सञ्चालन गर्न व्यापक छलफलद्वारा विधान सम्मेलन आयोजना गरिने छ। त्यस अनुरूप पार्टीका सबै संरचनालाई सक्रिय बनाइने छ,” उहाँले भन्नुभयो, “बलियो विधान भएमा पार्टीलाई चुस्तदुरुस्त बनाउन सहयोग गर्ने छ। त्यसबाट बलियो पार्टी बनाउने आधार निर्माण हुने छ।”

उहाँले माओवादीले आगामी तीनमहिने अभियान सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो। “पार्टीको तीनमहिने अभियान सञ्चालन गर्ने तयारी गरिएको छ। केन्द्रीय सदस्यलाई कार्यविभाजन गरेर वडासम्म पुगेर काम गर्ने गरी पठाइने छ। त्यसमा नयाँ पार्टी सदस्यता दिने, पुरानो पार्टी सदस्यता नवीकरण गर्नुपर्ने, पार्टी नभएको ठाउँमा गठन गर्ने र प्रशिक्षित गरिने छ,” उहाँले भन्नुभयो, “समाजमा भएका विकृति र भ्रष्टाचारविरोधी अभियानका रूपमा सञ्चालन गरिने छ। सरकारले गरेका राम्रा काम जनतामा र जनताका समस्या सरकारसमक्ष पु-याइने छ।”

पार्टी उपमहासचिव पुनले प्रधानमन्त्री प्रचण्डले सुन काण्डको छानबिन पार्टीभित्र र बाहिर कसैप्रति लक्षित नभएको बताउनुभएको जानकारी दिनुभयो। “प्रधानमन्त्रीले सुन काण्ड पार्टीभित्र र पार्टी बाहिर कसैप्रति लक्षित होइन, यो राजनीतिक, सामाजिक र सुशासनको अभियान हो, यसलाई व्यावसायिक रूपमा छानबिन गरेर कारबाही गरिने छ र दोषीलाई मात्रै दण्डित गरिने छ, भन्नुभएको छ,” उहाँले प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै भन्नुभयो, “पार्टीभित्र कसैलाई लक्षित गरेर छानबिन हुन्छ कि भन्ने नठानौँ। अहिले भ्रष्टाचारविरुद्धको सुशासनको अभियान राष्ट्रिय रूपमा अगाडि बढाइएको छ। एकथरी मानिस डराएर पार्टीभित्रै र गठबन्धनभित्रै खेल्न खोज्ने प्रवृत्ति देखिएको छ। एकआपसमा अन्तरविरोध पार्न खोज्ने देखिएको छ।” उहाँले अहिलेको सुन काण्डको छानबिनले पार्टी र गठबन्धनलाई अझ सुदृढ बनाएर लग्ने प्रधानमन्त्री प्रचण्डको धारणा रहेको बताउनुभयो।

नेता पुनले सुन काण्डमा उच्चस्तरीय छानबिन समिति बनाएर काम गर्नुपर्ने बताउनुभयो। पछिल्लो समय आफ्नो फोटो राखेर चरित्र हत्या गरिएकाले छानबिन गर्नका लागि सघाउन तयार रहेको बताउँदै उहाँले भन्नुभयो, “मैले जुनसुकै तहको छानबिन होस् सहयोग गर्न तयार छु। मेरो चरित्र हत्या गरियो। महराजी, गृहमन्त्रीका बारेमा पनि भ्रम भइराखेको छ। तथ्यमा आधारित भई छानबिन हुनुपर्छ। यसको समाधान गर्न तयार छु। अरू साथीहरू पनि तयार हुनुहुने छ भन्ने लाग्छ।”  प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा फोटो खिचाउँदा ख्याल गर्न आग्रह गर्नुभएको पार्टी सचिव दीनानाथ शर्माले बताउनुभयो।

“पार्टीका नेताहरूले पारिवारिक वा पार्टी र सरकारको काम गर्दा खिचिएका फोटोको अनेक अर्थ लगाइने रहेछ। आगामी दिनमा पार्टीका साथीहरूले फोटो खिच्दा ध्यान दिनुहोला,” उहाँले भन्नुभयो। गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here