काठमाडौं । किरात संस्कृतिका फिल्मकर्मी चन्द्र वाम्बुले राईलाई ‘किरात राई यायोक्खा जागिरमान–सुवासी राई सांस्कृतिक भिडियो पुरस्कार’ प्रदान गरिएको छ ।
किरात राई यायोक्खाको ३६औं स्थापना दिवसमा अवसरमा सोमबार आयोजित समारोहमा संस्कृति मन्त्री सुदन किराती र यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले उक्त सम्मान प्रदान गरेका हुन् ।
ओखलढुंगाको मानेभन्ज्याङ–२ वाक्सा ह्वाल्माफुमा जन्मिएका राई विगत दुई दशकदेखि किरात समुदायको संस्कार, संस्कृतिको खोज अनुसन्धान, चलचित्र र वृत्तचित्र निर्माण तथा निर्देशनमा संलग्न छन् । उनले वाम्बुले राई संस्कृतिमा आधारित ठूलो पर्दाको चलचित्र ‘सुम्निमा’ निर्देशन गरेका छन् । यसैगरी ‘किरात आदिम भूमि तुवाचुङ जायजुम’, ‘सुन्दर पोकली झरना ओखलढुंगा’, ‘वाम्बुले राई जातिको परिचय’, ‘किरात सुनुवार जाति’, ‘बायुङ राई जातिको ह्वाङ सिली’ वृत्तचित्र निर्माण गरेका छन् । यसैगरी किरात राई जातिका विभिन्न भाषामा सांगीतिक भिडियो निर्माण गरेका छन् । उनी किरात राई चलचित्रकर्मी संघका पूर्वअध्यक्ष हुन् ।
















