दाङ । रोल्पाको बाघमाराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको यात्रुबहाक बस रोल्पाको त्रिवेणी–७ टिला बजारनजिक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार ३ पुरुष र १ महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। ५ जनाको अवस्था गम्भीर रहेको छ।
मृत्यु हुनेमा माडी गाउँपालिका–४ रोल्पाकी हस्ता डाँगी, सोही ठाँउका गोरख डाँगी, परिवर्तन गाउँपालिका रोल्पाका भक्तबहादुर बिक र माडी गाउँपालिका–२ रोल्पाका प्रकाश बाँठा रहेका छन्।
बस रोल्पाको त्रिवेणी गाँउपालिका ७ टिलानजिक सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दिउँसो १ बजे दुर्घटनाको खबर पाएलगत्तै घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी पठाइएको र स्थानीय बासिन्दाको सहयोगमा उद्दार कार्य जारी रहेको छ।
घाइतेहरुलाई दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको छ। स्थानीयहरूका अनुसार तीव्र गतिमा गुडिरहेको बस चालकको नियन्त्रणबाहिर जाँदा दुर्घटनामा परेको थियो। प्रहरीले सामान्य घाइते भएका गाडी चालकलाई नियन्त्रणमा लिएको छ।


















