नेपाल–पाकिस्तान हवाई रुटका लागि पहल

51

काठमाडौं । नेपालसँग सिधा हवाई रुट सञ्चालन गर्न पाकिस्तान सरकारले फेरि पहल थालेको छ। नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हासमीले दुई मित्रराष्ट्रको सम्बन्ध थप प्रगाढ बनाउन सिधा हवाई रुटको पहल थालिएको बताउनुभयो। बुधबार पत्रकारसँग कुरा गर्दै राजदूत हासमीले सिधा हवाई रुट सञ्चालन गरी व्यापार प्रवर्धन तथा जनसम्बन्ध विस्तार गर्ने विषयमा पहल भइरहेको जानकारी दिनुभयो। पाकिस्तानसँग नेपालले सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेको हो।

उहाँले दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको लामो समय भएको स्मरण गर्दै सम्बन्ध थप प्रगाढ बनाउन उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिने औँल्याउनुभयो। उहाँले त्यसका लागि छिट्टै नेपालको संसदीय प्रतिनिधिमण्डलको उच्चस्तरीय भ्रमण पाकिस्तानमा हुने उल्लेख गर्दै उच्चस्तरीय भ्रमणले आपसी सहयोग र मित्रतालाई थप सुदृढ बनाउन सहयोग पु-याउने बताउनुभयो।

उहाँले दुई देशको परामर्श संयन्त्रको बैठकले गरेका सहमतिको कार्यान्वयनबारे जानकारी दिँदै नेपालसँग पछिल्लो समय विपत् पूर्वतयारी र जलवायु उत्थानशील विकासका लागि पाकिस्तान सरकारले सहकार्य गर्न चाहेको बताउनुभयो। नेपाल र पाकिस्तान दुवै देश विपत्का दृष्टिकोणले उत्तिकै संवेदनशील रहेकाले पनि विपत्बाट जोगिने र त्यसपछिको अवस्थामा एकअर्कालाई सहयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। राजदूत हासमीले पछिल्लो समय मौलाएको खेल कूटनीतिको प्रवर्धन गर्दै नेपालमा राम्रो क्रिकेट स्टेडियम निर्माण गर्न सकेमा पाकिस्तानले क्रिकेटको प्रवर्धन र वृत्तिविकासमा नेपाललाई सघाउन सक्ने बताउनुभयो।

पाकिस्तानमा नेपालबाट अध्ययन तथा तालिमका लागि सात हजार जना पुगिसकेका छन्। चिकित्सा शिक्षा र इन्जिनियरिङ अध्ययनका लागि नेपालका विद्यार्थी बाट पाकिस्तान पुग्ने गरेका छन्। gorkhapatra

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here