चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधनको चाप बढ्दै

28

काठमाडौं  । काठमाडौंको चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधनको चाप बढ्दै गएको छ ।

असार दोस्रो सातादेखि चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधन आउन सुरु गरेकामा हालसम्म ४९ वटा नयाँ सवारीसाधनले भन्सार जाँच पास गरेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । हालसम्म चोभार सुक्खा बन्दरगाहमा १७६ वटा कन्टेनर भन्सार जाँच पासका लागि आइसकेको र सो आउने क्रम निरन्तर बढिरहेको छ । नयाँ सवारीसाधन आउने क्रम निरन्तर जारी रहेको छ ।

हालसम्म साङ्ग्रिला मोटर्स प्रालिको पेट्रोलबाट चल्ने ४४ वटा सिट्रोन कार र जि‍ओ अटोमोबाइल्स प्रालिको पाँच वटा नयाँ गाडी चोभार भन्सार कार्यालयबाट भन्सार जाँच पास गर्ने गरी आएको हो । ती गाडी वीरगन्ज एकीकृत जाँच चौकीबाट चोभार सुक्खा बन्दरगाहमा ल्याइएको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले नयाँ सवारीसाधन भन्सार चेक जाँचका लागि नियमित रूपमा आउने गरेको जानकारी दिनुभयो । नाडा अटोमोबाइल एसोसिएसनसँग धेरै पटक छलफल गरी चोभार भन्सार कार्यालयबाट भन्सार प्रक्रिया गराउन सबै व्यवस्थित भएपछि सवारीसाधन चोभार आउने क्रम बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।

अन्य व्यवसायीसँग पनि चोभारमा सामान ल्याउने विषयमा छलफल भइरहेको समितिले जनाएको छ । समितिले चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासका लागि आउने मालवाहक सवारीसाधन एवं नयाँ सवारीसाधनका लागि प्रवेश शुल्क निःशुल्क गर्नुका साथै पार्किङ एवं गोदाम शुल्कसमेत न्यूनतम गरी समितिले स्तरीय सेवा प्रदान गरिरहेको छ ।

साथै आन्तरिक टर्मिनलमा पनि पार्किङ एवं गोदाम प्रयोगका लागि आउने व्यवसायीको सङ्ख्या बढ्दो क्रममा छ । चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा चल्न समय केही समय लागे पनि भविष्यमा राम्रोसँग चल्ने विश्वास समितिले दिएको छ । २०७८ साल चैत ९ देखि औपचारिक रूपमा बन्दगाह सुरु भएको थियो । आयात निर्यात सहजीकरण गर्ने लक्ष्यसहित विश्व बैङ्कको सहयोगमा स्थापना भएको बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन हुन नसकेपछि इन्टरमोडल यातायात विकास समितिले बन्दरगाहमा रहेको ८५ रोपनी जग्गामा पार्किङ र गोदाम घर निर्माण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here