वर्षाको समय छ । वर्षाका कारण वायु प्रदूषण घटेकाले खासै चर्चा छैन तापनि सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले नेपालमा वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पारेको र नेपालीको सरदर आयु घटेको देखाएको छ । मंगलबार सार्वजनिक र सन् २०२१ को तथ्यांकका आधारमा तयार एयर क्वालिटी लाइफ इन्डेक्स २०२३ नामक अर्न्तराष्ट्रिय प्रतिवेदनका अनुसार वायु प्रदूषणका कारण नेपालीको सरदर आयु ४.६ वर्षले घटेको छ । तराईका ९ जिल्लाका स्थानीयको सरदर आयुमा त झन् ६.८ वर्षले कटौती भएको छ । भूउपग्रह (सेटेलाइट) मा आधारित रहेर संकलन गरिएको पिएम २.५ को तथ्यांकले नेपाल विश्वकै सर्वाधिक प्रदूषित राष्ट्रको सूचीमा तेस्रो नम्बरमा रहेको देखाएको छ ।
वायु प्रदूषणले सरदरमा ४.६ वर्ष आयु कटौती गरेको छ भने त्यसपछि दोस्रोमा धूमपानले २.८ वर्ष र उच्च रक्त चापले १.७ वर्ष आयु घटाएको तथ्य प्रतिवेदनमा उल्लेख गरिएको छ । यो समाचार नागरिक दैनिकमा छ ।


















