चन्द्रागिरिबाट ‘जनतासँग माओवादी कार्यक्रम’ सुरू हुने

103

काठमाडाैं । माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत प्रत्येक वडामा जाने अभियानको सुरूवात काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ बाट सुरू हुने भएको छ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो अभियानको सुरुवात गर्नेछन्।

गत स्थानीय निर्वाचनमा यो वडा माओवादीले जितेको वडा हो। माओवादीले यही भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ।

तीन महिनासम्म चल्ने अभियानमा माओवादीका अध्यक्षदेखि प्रदेश पदाधिकारीसम्मका नेता कार्यकर्ता प्रत्येक वडामा जाने र सरकारले गरिरहेका काम तथा माओवादीको योजनाका बारेमा जानकारी गराउने निर्णय गत साउन १७ देखि २१ गतेसम्म काठमाडौंमा बसेको माओवादीको केन्द्रीय कमिटी बैठकले गरेको थियो।

त्यही कार्यक्रम अन्तर्गत माओवादीले प्रत्येक स्थानीय तहमा पहिलो चरणको तयारी बैठक सम्पन्न गरिसकेको उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले बताए।

वडा वडामा केन्द्रीत हुने कार्यक्रम अन्तर्गत अध्यक्ष प्रचण्ड चन्द्रागिरी नगरपालिका वडा नम्बर २ मा जान लागेको र अध्यक्षले अभियानको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम रहेको प्रवक्ता सापकोटाले बताए।

माओवादीले मंसिर १६ सम्म जनतासँग माओवादी कार्यक्रम सम्पन्न गरेपछि मंसिरमै विधान सम्मेलन र त्यसको ३ महिनापछि विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here