रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा रु तीन लाख २८ हजार ५१ भेटी सङ्कलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम सङ्कलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।
यस्तै गोसाइँकुण्डमा तीर्थ गर्न जाने भक्तजन भने यस वर्ष करिव ४० प्रतिशतले घटेको अनुमान गरिएको छ । युवा भक्तजन बाह्रै महिना ओहरदोहर भइरहने भएका कारण यस वर्षको मुख्य पर्वमा गोसाइँकुण्ड जाने यात्रु घटेको बताइएको छ ।
तीर्थ पुगेका भक्तजनलाई भने नेपाली सेना, जिल्ला अस्पताल, गोसाइँकुण्ड गाउँपालिका र हिमालय उद्धार सङ्घलगायतका निकायले लेक लाग्ने समस्या न्यूनीकरणलगायतका उपचार सेवा प्रदान गरेको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अमितकुमार शाहले जानकारी दिए । लेक लाग्ने समस्या रोकथाम गर्ने औषधि उच्च भागमा जानुपूर्वनै सेवन गराइएका कारण यात्रुलाई विगतको तुलनामा यस वर्ष यात्रु बिरामी सङ्ख्यामा कमी आएको उनले बताए । रासस


















