काठमाडौं । काठमाडौं महानगरपालिका-१४ डेरा गरी बस्ने पाँचथर फालेलुङ गाउँपालिका-६ घर भएका ३५ वर्षीय जंग बहादुर राईलाई अवैध लागूऔषध खैरो हेरोईन १ सय ४२ ग्राम, नगद ९ लाख ५० हजार रूपैयाँ र डिजिटल तराजु १ थानसहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई आफ्नै कोठाबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत भक्तपुरबाट लागूऔषध मुद्दामा म्याद थप अनुमतिलाई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । भक्तपुर, भक्तपुर नगरपालिका-१ दुधपाटी बस्ने ४९ वर्षीय शिद्धि राम सिल्पकारलाई अवैध लागूऔषध खैरो हेरोईन २१ ग्राम १० मिलिग्राम र डिजिटल तराजु १ थानसहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत भक्तपुरबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
मोरङ, उर्लाबारी नगरपालिका-३ मङगलबारेबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ३ सय ९० मिलिग्रामसहित ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सुनसरी ईटहरी उपमहानगरपालिका-१९ तरहरा घर भएका २४ वर्षीय जीवन विश्वकर्मा, मोरङ पथरी शनिश्चरे नगरपालिका-१ बस्ने ४० वर्षीय सन्जय सहनी, २९ वर्षीय मिथुन मण्डल र २५ वर्षीय राम कुमार सहनी रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले जीवनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी खरिद बिक्रीमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरापलिका-१५ नेशनल मेडिकल कलेज पछाडीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम र सेतो हेरोईन जस्तो देखिने पदार्थ २ सय ४० ग्रामसहित सोही महानगरपालिका-१५ ब्रम्हचोक डेरा गरी बस्ने बारा कोल्बी नगरपालिका-५ घर भएका २५ वर्षीय तिर्थ नारायण चौधरी समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भिस्वागाउँबाट खटिएको प्रहरीले प्रदेश-०२-०२१ प ९७९५ र प्रदेश २-०३-०११ प ४९८९ नम्बरका मोटरसाइकल रोकी बसिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।


















