राधाकृष्ण रथयात्राको ५५ औं संस्करण निकालिँदै

23

मोरङ । प्रत्येक वर्ष विराटनगरमा निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको ५५ औं संस्करण बिहीबार निकालिँदैछ।

कृष्णजन्माष्टिको भोलिपल्ट निकालिने रथयात्रा १९८८ सालबाट सुरु गरिएको हो।

सो समय युगल राधाकृष्णलाई खटमा राखेर नगरपरिक्रमा गराइन्थ्यो। २०२४ सालपछि रथयात्रालाई बृहत बनाउँदै रथमा राखेर नगरपरिक्रमा गराउन थालिएको हो।

यसपटकको रथयात्रामा ५८ वटा विभिन्न प्रकारका झाँकी सुरुमा निकालिने रथयात्रा मूल समारोह समितिले जनाएको छ।

राधाकृष्णको मन्दिर रहेको स्थान विराटनगर १ बाट दिउँसो करिब ३ बजे सुरु हुने रथयात्राले ९ किलोमिटरको नगरपरिक्रमाका क्रममा विभिन्न ४३ स्थानमा छोटो विश्राम लिनेछ।

रथयात्रा मूल समारोह समितिका सदस्य कृष्ण कार्कीका अनुसार रथयात्रा र राधाकृष्णको युगल जोडी हेर्नका लागि विराटनगर आएका हजारौं भक्तजनलाई दर्शनका लागि ती स्थानमा रथ रोकिने जानकारी दिए।

रथयात्रा पूर्व झाकी र अन्य कार्यक्रम दिउँसो १ बजेबाट नै सुरु हुने उनले जानकारी दिए।

रथयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन करिब १ हजार सुरक्षाकर्मी प्रत्यक्ष अप्रत्यक्ष रुपमा खटिनेछन्। कार्कीका अनुसार रथ तान्नका लागि पाँचसय जना सशस्त्र र जनपद प्रहरी परिचालन हुनेछन्।

२२ फिट लम्बाई, १८ फिट चौडाइ र १८ फिट उचाई रहेको रथको सज्जावटका लागि भारतको कलकत्ताबाट कालिगढ झिकाइएको सदस्य कार्कीले जानकारी दिए।

कोभिड १९ महामारीका क्रममा दुईवर्ष भने रथयात्रालाई पुनः खट(गाडी)मा राखेर नगरपरिक्रमा गराइएको थियो।

रथयात्राका क्रममा के के गरिन्छ ।

आफ्नै मौलिकतामा अघि बढिरहेको रथयात्रा सुरु हुनपूर्व मन्दिर परिषरमा पूजाआजा गरिन्छ। कृष्णजन्माष्टमीको मध्यरात १२ बजे मन्दिरमा रहेको राधाकृष्णको अचल विग्रह(आकृति)सँगै चल विग्रह राखेर षोडशोपचार पूजा गरिन्छ।

कृष्णको जन्मसँगै गरिने पूजापछि भोलिपल्ट विहानबाट राधाकृष्णको अचल विग्रह नजिक राखिएको चल विग्रहलाई प्रातकालिन पूजाआजा गरिन्छ। यससँगै करिब अढाइ घण्टाको विषेश पूजापछि चल विग्रहमा भगवान जगाउने कार्य हुनेछ।

सोही चल विग्रहलाई रथयात्राका क्रममा रथमा राखिने गरिन्छ। रथयात्राको सुरुआत दिउँसो करिब ३ बजेको तयारीसँगै मन्दिरमा रहेको चल विग्रहलाई पुनः षोडशोपचार पूजा गरि रथमा राखिन्छ।

मन्दिरका गुरुले निकालेको साइत समयमा रथ निकालिन्छ। रथमा मन्दिरका मुख्य गुरु पन्डित भवानीप्रसाद निरौलाको अगुवाईमा शंखनादका लागि एकजना, स्वस्तीवाचनका लागि दुईजना र एकजना सहायक गरी पाँचजना गुरुको उपस्थिति रहन्छ।

मन्दिर परिषरबाट निकालिएको रथयात्राले नगरपरिक्रमा पुरा नहुञ्जेल दुई जना गुरुले वेद वाचन गर्छन्। मध्यरात जन्मिएका कृष्णसँगै राधाको युगल जोडीलाई भक्तजनमाझ दर्शनका लागि नगरपरिक्रमा हुने गरेको रथयात्रा मुल समारोह समितिले जनाएको छ।

९ किलोमिटरको रथयात्रापछि युगलजोडीलाई पुनः मन्दिरमा पुराएर पूजाआजा र आरतीसहित मन्दिरमा रहेको अचल विग्रहभन्दा फरक स्थानमा राख्ने गरिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here