अलमलमा नयाँ स्टक एक्सचेञ्ज

59

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको काम अन्तिम चरणमा आएर रोकिएसँगै अन्योल बढेको छ। पछिल्लो समय निकै चर्चाको विषय बनेको नयाँ स्टकको काम प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो निर्देशनले रोकिएसँगै अन्योल भएको हो।

धितोपत्र बोर्डको महत्वाकांक्षी लक्ष्यको रूपमा अगाडि बढेको नयाँ स्टकको काम चर्को विवादमा परेपछि प्रधानमन्त्री दाहालले तत्कालका लागि रोक्न निर्देशन दिएका थिए । हाल सञ्चालनमा रहेको नेपाल स्टक एक्सचेञ्जले चुस्त काम गर्न नसकेको निष्कर्ष निकाल्दै बोर्डले प्रतिष्पर्धाका लागि नयाँ स्टक एक्सचेञ्ज आवश्यक भएको दाबी गर्दै आएको छ ।

विगतदेखि नै बोर्डले यसलाई आफ्नो नीतिमा समेटे पनि काम अधि भने बढ्न सकेको थिएन । बोर्डको अध्यक्षका रुपमा नियुक्त भएसँगै रमेश हमालले आफ्नो मुख्य लक्ष्यकै रुपमा नयाँ स्टक एक्सचेञ्जको प्रक्रिया अगाडि बढाएका थिए।

हमालले प्रक्रिया अगाडि बढाएसँगै लगानीकर्ताको साथ पनि पाए । तर, अन्तिम समयमा प्रधानमन्त्री दाहालको निर्देशनले नयाँ स्टक एक्सचेञ्जको काम रोकिएको छ। प्रधानमन्त्रीले रोकेको यो कामबारे अर्थ मन्त्रालयले पनि खासै चासो लिएको देखिँदैन ।

मन्त्रालयका एक अधिकारीले भने, ‘मन्त्रिपरिषद्बाट निर्देशन आएपछि रोकिएको हो । यसपछि के कस्तो छलफल भएको छ भन्नेबारे बोर्डलाई नै थाहा होला ।’ बोर्ड अध्यक्ष हमालले सरकारले नयाँ स्टक एक्सचेञ्जको काम किन रोकियो भन्नेबारे कुनै जानकारी नदिएको बताए। यो समाचार कारोवार दैनिकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here