हेडलाइनकारिताले पत्रकारिता क्षेत्र समस्याग्रस्त : सञ्चारमन्त्री बास्कोटा

197

काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ‘हेडलाइनकारिता’ का कारण पत्रकारिता क्षेत्र समस्याग्रस्त बनेको  जनाएका छन् ।

विधायन व्यवस्थापन समितिमा भएको मिडिया काउन्सिल विधेयक माथिको छलफलमा बोल्दै मन्त्री बास्कोटाले यस्तो  जनाएका हुन् ।

मन्त्री बास्कोटाले तथ्य र प्रमाण बिना समाचार लेख्ने प्रवृति र हेडलाइनकारिताले यो क्षेत्र समस्याग्रस्त भएको  जनाए । तथ्य बिना लेखिएका समाचारहरुमा पीडित पक्षले आफ्नो कुरा सुधार्ने ठाउँ नपाएकाले विधेयकको आवश्यकता परेको उनले  जनाए । पीडित पक्षले पनि स्पष्टिकरण दिने ठाउँ समेत नदिने र पुष्टि नभएका समाचार लेख्नेहरुलाई दण्ड जरिवाना दिने व्यवस्था गरिएको  जनाए।

विधेयकले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नगरेको बास्कोटाले दाबी गरेका थिए । ‘अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै पनि कल्पना गर्न सक्दैनौँ । नेपालको संविधानलाई टेकेर बन्ने कुनै पनि कानुनले त्यो अनुमति दिँदैन,’ बास्कोटाले भने ‘अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भयो भन्नेहरुको त्रास मात्रै हो । त्यो व्यक्तिगत रुपमा प्रकट हुने कुरा हो ।’

बास्कोटाले अरुको सबै कुरा पारदर्शी खोज्नेले आफूलाई पारदर्शी राख्नुपर्ने  जनाए । ७ लाखप्रति पत्रिका छाप्नका लागि भनेर पेपर ल्याउने तर १ लाख छापेर अरु बजारमा बेच्ने कुरालाई नियन्त्रण गर्न विधेयक आवश्यक भएको उनले जनाए। प्रेस काउन्सिलले गरेको वर्गीकरणको सन्दर्भमा धेरैले आपत्ति जनाउने गरेको तर कति प्रति छापियो, कतिले पढे ? भन्ने कुरा अनुगमन गर्न जाँदा लुकाउने प्रवृति रहेको उनले  जनाए ।

विधेयकमा व्यवस्था गरिएको सजायका विषयमा बास्कोटाले अदालतको न्याय प्रणाली ढिला भएकाले प्रारम्भिक चरणका मुद्दाहरु काउन्सिलबाट नै समाधान गरिनुपर्ने मत राखेको छ । ‘कहिले पेशी भनेको छ, कहिले के भनेको छ । जेरी जस्तो घुमेको छ । मान्छेको प्राण सकिएपछि आएको फैसलाले के हुन्छ ? त्यसैले प्रारम्भिक चरणमा केही कुरा काउन्सिलमा जानुपर्छ’ उनले भने । काउन्सिलका पदाधिकारी नियुक्ति र संख्याको विषयमा छलफल गर्न सकिने भन्दै बास्कोटाले समिति पारदर्शी र राम्रो बन्नेमा शंका नगर्न आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here