काठमाडौं / नेपाल स्टक एक्सचेन्जको अनलाइन प्रणालीमार्फत बुधबार ऋणपत्रको कारोबार भएको छ । नेप्सेका अनुसार ऋणपत्रको २ वटा कारोबार भएको हो । यसअघि अनलाइनबाटै गत असार ३ गते पनि ऋणपत्र कारोबार भएको थियो । बुधबार एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ बिक्रेता र एनएमबि हाइब्रिड फन्ड खरिदकर्ता रहने गरी १०५ सानिमा डिबेन्चर, २०८५ को २५ हजार कित्ता ९इकाई० ऋणपत्र खरिदबिक्री भएको हो ।
यसैगरी, एनएमबि सुभल इन्भेष्टमेन्ट फन्ड–१ बिक्रेता र एनएमबि ५० खरिदकर्ता रहने गरी सानिमाकै अर्को २५ हजार कित्ता ऋणपत्र पनि कारोबार भएको नेप्सेले जानकारी गराएको छ । दुई वटै कारोबारबाट कुल ५० हजार कित्ता ऋणपत्र प्रतिकित्ता ९६३ रुपैयाँका दरले कारोबार भएको हो । यसमा कुल ४ करोड ८१ लाख ५० हजार रुपैयाँको खरिदबिक्री भएको देखिन्छ । यससँगै आगामी दिनमा संस्थागत तथा सरकारी ऋणपत्र दोस्रो बजारमार्फत कारोबार गर्न सहज हुने देखिएको छ ।
यसअघि नेप्सेमार्फत ऋणपत्र कारोबार हुन नसक्दा आम लगानीकर्ता मारमा परेका थिए । अब ऋणपत्र कारोबारमा रहेका केही प्राविधिक समस्या समाधान गर्न सके लगानीकर्तालाई सहज हुनेछ ।


















