टीकापुर । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समिति टीकापुर गौशालाले गाईको मल बिक्री थालेको छ । यसअघि ट्रलीका रुपमा बिक्री गर्दै आएको गौशालाले मङ्गलबारदेखि खुद्रारुपमा समेत मल बिक्री थालेको हो ।
समितिका अनुसार गौशालामा रहेको गोबर ग्यासमा दैनिक चार क्विन्टलसम्म मल उत्पादन हुन्छ । यसरी बिक्रीबाट भएको आम्दानी गार्ई व्यवस्थापनमा खर्च हुनेछ । गौशालामा रहेको गोबर ग्यासबाट विगत चार महिनादेखि स्थानीयलाई ग्यास वितरण भइरहेको छ । स्थानीय ५५ घरले ग्यासको सुविधा लिँदै आएका छन् । ग्यास हरेक दिन बिहान दुई घण्टा र साँझ दुई घण्टा वितरण हुने गरेको छ ।
गौशालाले असोज महिनादेखि अब ग्यासको समेत न्यूनतम मूल्य लिने निर्णय गरेको छ । ग्यास वितरण भएका घरमा राखिएको मिटर रिडिङका आधारमा प्रतियुनिट रु ४५ लिने निर्णय भएको सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समितिका अध्यक्ष लोकबहादुर बुढाक्षेत्रीले बताए ।
केही वर्षदेखि नगरपालिकाले सञ्चालन गर्दै आएको गौशाला गएको जेठ महिनादेखि समितिले सञ्चालन गरिरहेको छ । गौशालामा रहेका गाईको व्यवस्थापन समिति आफैँले खर्च बेर्होने गरेको छ । नगरपालिकाले वार्षिक रु २० लाख रकम छुट्याउने गरेकोमा त्यो रकम पशु सेवकमै खर्च हुने गरेको छ । त्यहाँ आठ जना गौसेवक कार्यरत छन् । दुई जना व्यवस्थापन समितिका पदाधिकारीसमेत सेवकका रुपमा कार्यरत छन् । आठ जनाले मासिक तलब सुविधा पाउने र दुई जना सेवकका रुपमा कार्यरत रहेका छन् । आठ जनाको तलब खर्च वार्षिक रु साढे १८ लाख वार्षिक खर्च हुने गरेको बुढाक्षेत्रीको भनाइ छ । पालिकाले दिने रकम तलबमै खर्च हुने भएपछि पशुको आहारा तथा अन्य व्यवस्थापनमा समस्या भइरहेको बताइएको छ । RSS


















