काठमाडौं । संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भए ।
सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ‘संविधान दिवस, २०८०’ लेखिएको ब्यानर प्रदर्शन तथा पृष्पवृष्टि गरिएको थियो । जुन ब्यानर लेखिएको होलिकोप्टरले चक्रपथ परिक्रमा गरेको थियो । मैदानबाट रङ्गीचङ्गी बेलुन र शान्तिका दूत परेवा उडाइनुका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न टोलीबाट मार्चपास तथा साङ्गीतिक प्रस्तुति गरिएको थियो ।
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाद्वारा सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो भने सूचना तथा प्रसारण विभागबाट प्रकाशित ‘नेपाल’ द्वैमासिकको संविधान दिवस विशेषाङ्क विमोचन गरिएको थियो । समारोहमा कार्यवाहक प्रधानमन्त्री खड्काले सम्बोधन गरेका थिए । रासस


















