यु-१९ साफ च्याम्पियनसिपमा बंगलादेशलाई भुटान सेमिफाइनल प्रवेश

60

काठमाडौं । पछिल्लो केही वर्षदेखी भुटानले गरेको ग्रासरुट फुटबलको लगानिको नतिजा देखिन थालेको छ। काठमाडौंमा जारी यु-१९ साफ च्याम्पियनसिप फुटबलमा उपाधि दाबेदार बंगलादेशलाई ४-३ गोलको सनसनिपूर्ण जित निकाल्दै भुटान सेमिफाइनल प्रवेश गर्न सफल भयो। समूह ‘बी’ बाट भुटान र भारत सेमिफाइनल प्रवेश गरेका छन्। समूह विजेताको तय भने भारत र भुटानबिचको खेलबाट हुने छ।

भुटानसँग पराजित भएको बंगलादेश भने समूहचरणबाटै बाहिरिएको छ। खेलमा बंगलादेशले भुटान विरुद्ध तेस्रो मिनेटमानै अग्रता बनाएको थियो। भुटानी गोलरक्षक र डिफेन्डरको तालमेल नमिलेको बलमा रुवेल शेखले बंगलादेशलाई सुरुवाती अग्रता दिलाए। बंगलादेशका लागि असदुल मोलाले ३० औं मिनेटमा अग्रता दोब्बर बनाए।

तर ३२ औं मिनेटमा भुटानका जिग्मे नामग्यालले गोल गर्दै टिमलाई खेलमा फर्काए। पहिलो हाफमानै बराबरी गोल फर्काउने क्रममा भुटानका लागि किङ्गजङ्ग तेन्जीङ्गले पहिलो हाफको इन्जुरी समयमा आकर्षक गोल गरे।

पहिलो हाफमा २-२ गोलको बराबरी भएको खेलमा दोस्रो हाफमा पुन बंगलादेशले अग्रता बनायो। ५५ औं मिनेटमा बंगलादेशका राजु अहमेद जिसानले टिमका लागि तेस्रो गोल गर्दै टिमको सेमिफाइनल आशा कायम राखे। तर उनको अग्रतालाई भुटानले लामो समय टिक्न दिएन ६८ औं मिनेटमा भुटानले पुन बराबरी गोल फर्कायो। जिग्मे नामग्याललेनै ब्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३-३ को अवस्थामा ल्याए।

बराबरी पछि दुबै टिमले खेलमा गोलका प्रयासहरु निरन्तर गरे। यस्तोमा भुटानले ८४ औं मिनेटमा सब्सटिच्युट खेलाडीका रुपमा मैदान छिरेका रिन्जिङ दोर्जेले गोल गर्दा बंगलादेश स्तब्ध बन्यो भने दक्षिण एसियामा भुटानले आफ्नो उदीयमान छविलाई उजागर गर्न समेत सफल भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here