काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असार १० गतेभित्रै विभाग गठनको तयारी थालेका छन् ।
नवनिर्वाचित कार्यसमितिले सपथ लिएको असार १० गते ६ महिना पुग्ने भएकाले त्यसअघि नै देउवाले विभाग गठन गर्ने तयारी गरेका हुन् ।
सभापति देउवाले विभाग गठनका लागि तयारी थालेको शीर्ष तहका एक नेताले जानकारी दिए । ‘सपथ लिएको दिनबाट असार १० गते निर्वाचित कार्यसमितिको छ महिना पुग्दछ । असार १० अघि नै विभाग गठनको तयारी भएको छ,’ ती नेताले भने ।
विधान अनुसारको विभागहरु गठन गर्नका लागि सभापति देउवालाई भेटेर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सोमबार ध्यानाकर्षण गराएका थिए । विभाग गठन, केन्द्रीय समितिको बैठक आह्वान, भ्रातृ संस्था गठन तथा पूर्णता लगायतका विषयमा सभापतिसँग छलफल भएको महामन्त्री शर्माले जानकारी गराए ।
दुई महामन्त्रीले मंगलबार पनि देउवालाई भेट्ने भएका छन् । भेटमा पार्टीको आन्तरिक विषयमा छलफल हुने महामन्त्री शर्माले जानकारी दिए । देउवाको अघिल्लो कार्यकालमा विधान विपरीत विभाग बढाइएको भन्दै एक पक्षले विरोध गरेको थियो । चार वर्षे कार्यकाल सकिएपछि देउवाले ४७ सदस्यीय विभाग बनाएका थिए ।