नेपालले चालिस बर्षपछि कुबेत विरूद्व गाेल गरेका दर्शन गुरुङकाे संघर्षपूर्ण कथा

31

काठमाडौं । नेपालले कुवेतमा भएको एसिया कप छनोटका ३ खेलमा १३ गोल खाएर एक गोल मात्रै फर्कायो । गोल फर्काउने खेलाडी थिए २० वर्षीय दर्शन गुरुङ । त्यो गोल राष्ट्रिय जर्सीबाट उनको पहिलो गोल थियो र कुवेतविरुद्ध नेपालको दोस्रो । सानै उमेरबाट फुटबल खेल्न थालेका दर्शनमा राष्ट्रिय टिममा खेल्ने रहर थियो । गाउँघरमा मामाहरूले खेलेको देखेर मैदान छिरेका उनले मामाहरूसँगै फुटबल सिके र खेले ।

इलामको विकट पहाडी गाउँ सन्दकपुरबाट पढाइको सिलसिलामा इलाम झरेपछि उनले स्कुलस्तरीय खेलमा भाग लिन थाले । उनले कोकाकोला कप स्कुल स्तरीय प्रतियोगिता खेले । त्यही खेलमा उनको कौशल फुटबल र एन्फासँग नजिक भएका जिल्लाकै एक व्यक्तिको नजरमा परेछ । जुन उनलाई एन्फासम्म ल्याइपुर्याउने बाटो बन्यो । एन्फामा भएको यू–१२ को सेलेक्सनमा उनलाई बोलाइयो । २०६७ सालमा १२ वर्षका दर्शन यू–१२ समूहमा छनोट भए ।

त्यसपछि उनले नेपालका यू–१४, यू–१५, यू–१६, यू–१९, यू–२३ हुँदै २०७७ सालमा उनले सिनियर टिममा डेब्यु पाए । २०७७ सालमा ढाकामा भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा उनले डेब्यु गरेका थिए । ए डिभिजन लिगमा न्युरोड क्लब (एनआएटी)बाट खेले पनि उनले त्यसपछि राष्ट्रिय टिममा स्थान बनाउन सकेका थिएनन् । यसपटक प्रशिक्षकको व्यवहारप्रति आपत्ति जनाउँदै १० जना सिनियर खेलाडी टिमबाट बाहिरिएपछि उनले मौका पाए । र, त्यो मौकालाई सदुपयोग पनि गरे ।

०७७ सालमा राष्ट्रिय टिममा डेब्युपछि आत्मविश्वास बढेको थियो उनमा । ‘देशको लागि खेल्छु, गोल गर्छु भन्ने सोच झन् बढी आएको थियो । त्यही अठोटले मेहिनेत पनि गरेको थिएँ,’ उनी भन्छन् । एक पटक सिनियर फुटबल खेल्न थालेका दर्शनले घरेलु प्रतियोगितामा पनि फर्वाडकै भूमिकामा हुन्छन् ।

टोखा भगवतीबाट २०७३ बी डिभिजन लिग खेलेका उनले त्यहि वर्षबाट राष्ट्रिय लिग खेल्न थालेका हुन् । २०७३ मा एक पटक मात्र बी डिभिजन खेलेका उनले पहिलो पटकमा नै उत्कृृष्ट मिडफिल्डरको उपाधि जितेका थिए ।

त्यसपछि २०७५/७६ मा उनले पहिलो पटक ए डिभिजन लिग खेल्ने अवसर पाए । एनआरटीबाट पहिलो पटक ए डिभिजन खेलेका उनले पहिलो सिजनमा नै ‘इमर्जिङ प्लेअर’ को उपाधि हात पारे । उनले एनआरटीको लागि पहिलो सिजनमा ३ गोल गरेका थिए ।

२०७७/७८ को ए डिभिजनमा उनलाई टिमले पुनः आवद्ध गरायो । प्रशिक्षक राजु शाक्य र एनआरटी क्लबले उनलाई गत सिजनको ७ खेलमा कप्तानी पनि दिएका थिए । उनको लागि पछिल्लो सिजनको ए डिभिजन लिग दोस्रो ए डिभिजन लिग हो । त्यसमा उनले ४ गोल गरेका थिए । उनले कप्तानी गरेको टिम एनआरटी लिगमा तेस्रो स्थानमा रह्यो ।

परिवारमा आर्थिक संकट देखा परेपछि २०७६ पछि उनी फुटबलमा हराए । पारिवारिक समस्याका कारण एक पटक फुटबल छोडेर लाहुरे हुने निर्णय गरेका थिए । ‘बीचमा एकपटक लाहुरे भिड्न गएँ । परिवारमा समस्या आयो फुटबल मन परे पनि परिवार पाल्नुपर्ने थियो,’ उनी भन्छन् ।

मध्यम वर्गीय परिवारका एक्लो छोरा दर्शनलाई परिवार पाल्नुपर्ने बाध्यता पनि छ । वर्षमा एउटा लिग खेलेर परिवार पाल्न सक्ने अवस्था नेपाली खेलाडीको छैन । झट्ट सुन्दा नराम्रो लागे पनि यो नेपाली खेलाडीको आम समस्या हो । उनको सानो परिवारमा बाबाआमा र बहिनी छन् ।

सुरुमा फुटबल खेल्न जाँदा परिवारबाट खासै समर्थन नपाएका दर्शनले आफूले आफूलाई प्रमाणित गरेका छन् । ‘बाबाले समर्थन गरे पनि ममीले फुटबल खेलेर के हुन्छ भन्दै करिअर सुरक्षित नभएकाले खासै समर्थन गर्नुहुन्नथ्यो । तर अहिले स्थिति फेरिएको छ,’उनी भन्छन् ।

नेपाली खेलाडीको नियमित आम्दानी छैन । विभागमा भएका खेलाडीको गुजारा चले पनि सामान्य खेलाडीलाई जीवन धान्न अझै पनि गाह्रो नै छ । दर्शन पनि कुनै विभागमा आवद्ध छैनन् । यो सामग्री अनलाइन खबरबाट साभार गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here