यातायात सुधार गर्न कार्यदल गठन

38

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चाडपर्वलक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गरेको छ । मन्त्रालयमा शुक्रबार सरोकारवाला सबै पक्षसँग छलफल गरी यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चापागाईं, बागमती प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, प्रहरी प्रधान कार्यालय, उपत्यका ट्राफिक महाशाखा, सडक विभाग, यातायात व्यवसायी महासङ्घ, उपभोक्ता संरक्षण मञ्च, ट्रेड युनियनका प्रतिनिधि र काठमाडौँ महानगरपालिका सहभागी रहेको बैठकले सो कार्यदल गठन गरेको हो ।

“यातायात क्षेत्र चुस्त नहुँदा दसैँ, तिहार र छठ जस्ता पर्वमा लाखौँ यात्रुले सास्ती पाउँदै आएका छन् । यो वर्ष त्यसलाई व्यवस्थित गर्न समयमै कार्यदल बनाएका छौँ,” उहाँले भन्नुभयो, “कार्यदलले एक साताभित्र प्रतिवेदन दिन्छ, त्यही आधारमा व्यवस्थापनको काम थाल्छौँ ।”

उहाँले यात्री ठगिने, बिच बाटोमा अलपत्र पर्ने जस्ता सास्ती बेहोर्नु नपरोस् भन्ने उद्देश्यसहित कार्यदल गठन गरी सुधारको प्रयास गरिएको बताउनुभयो । विभिन्न पर्वमा राजधानी काठमाडौँबाट बर्सेनि १० लाख यात्रु बाहिरिने गरेका छन् । यातायातमन्त्री ज्वालाले दसैँको बुकिङ खुल्नुभन्दा अगाडि सडकको अवस्था सुधार गर्न सडक विभागलाई निर्देशन दिनुभएको छ ।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सडकको अवस्था सुधार गर्न तत्कालै टोली खटाउने प्रतिबद्धता जनाउनुका साथै ट्राफिक ब्यवस्थापनका लागि आफूहरूले कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्नुभयो । यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज चौलागाईंले कुनै पनि स्थानका लागि पनि गाडीको अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैठकमा उपभोक्ता संरक्षण मञ्चका प्रतिनिधिले सडकछेउका होटलले यात्रुलाई दूषित खाना खुवाउने र त्यसको चर्काे मूल्य असुल गर्ने गरेको भन्दै त्यसको निरीक्षण गर्न अनुरोध गरेका थिए । मन्त्री ज्वालाले राज्यका अन्य निकाय र मन्त्रालयसँग सहकार्य गरी निरीक्षण गर्ने बताउनुभयो । गाेरखापत्र

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here