कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ मरघटैयाका मुक्त कमैया परिवार स्याली नदीको बाढीले जग्गा कटान गर्न थालेपछि विस्थापनामा पर्न थालेका छन् । पाँच परिवार मुक्त कमैयाको जग्गा नदीको बाढीले बगाएर लगेपछि विस्थापनामा परेका छन् ।
बस्तीकी लक्ष्मी चौधरीले भनिन्, “पुनः स्थापना गराउँदा पाइएको दश कट्ठामध्ये आधा जग्गा नदीले बगाइ सक्यो बचेको आधा जग्गा पनि बग्ने सँघारमा पुगेको छ, नगरपालिकादेखि प्रदेशसम्म नदी नियन्त्रण गरिदनका लागि अनुयविनय गर्दा पनि सुनुवाइ हुन सकेको छैन ।”
अन्यत्र सुरक्षित ठाउँमा पुनः स्थापना गराई दिनका लागि आग्रह गरिँदा पनि बेवास्ता हुन थालेको फुलराम चौधरीले बताए । “नजिकको सरकार भनेकै नगरपालिका हो”, उनले भने, “चुनावका बेला मत माग्न आउँदा गरेको प्रतिबद्धता विजयी भएका नगर प्रमुख, उपप्रमुखले बिर्सिएका छन् ।” वडाध्यक्षले बेलाबखत अनुगमन गर्दै आएको उनले बताए । वडाध्यक्ष नवलसिंह रानाले नदीले बर्सेनि जग्गा कटान गर्न थालेपछि मुक्त कमैया परिवार विस्थापनामा पर्न थाले पनि कुनै पनि निकायको ध्यान जान नसकेको बताए ।
“वडाको बजेटले ठूलो तटबन्ध बनाउन सकिँदैन”, उनले भने, “थोरै बजेटले तटबन्ध निर्माण हुन सक्दैन, यसका लागि नगरपालिकाको कार्यपालिका बैठकमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ हुन सकेको छैन ।” प्रदेशमा पनि मुक्त कमैया बस्ती जोगाउनका लागि तटबन्धका लागि पहल गरिरहेको उनको भनाइ थियो । रासस


















