हाङ्जाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपालले आज जपानसित खेल्ने भएको छ । नेपाल र जापानबीचको खेल आज साँझ ५ : १५ बजे हुने छ ।
समूह डी मा रहेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ। उक्त समूहमा पान शीर्ष स्थानमा रहेको छ । यस्तै भियतनाम दोस्रो स्थानमा तथा बंगलादेश अंक तालिकाको पुछारमा रहेको छ। नेपालले समूह चरणको अन्तिम खेल यही असोज ११ गते बंगलादेशसित खेल्ने छ ।
यसैबीच भियतनामविरुद्धको पहिलो खेलमा घाइते भएकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बूको घुँडाको शल्यक्रिया सफल भएको छ । उनको आइतबार चीनको हानझाउस्थित लोङवान अस्पतालमा घुँडाको शल्यक्रिया गरिएको हो ।
भियतनामविरुद्धको पहिलो खेल खेल्ने क्रममा लिम्बू खेलको ३५औँ मिनेटमा घाइते भएकी थिइन् । उनको घुँडाको मांसपेसी च्यातिएको थियो । लिम्बूले १९औँ एसियाली खेलकुदअन्तर्गत महिला फुटबलका बाँकी खेल गुमाउने भएकी छिन् । रासस


















