भष्टाचारका मुद्दा कमजोर बनाएर अदालत पुर्‍याएको आरोप

79

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भ्रष्टाचारका मुद्दाहरूलाई कमजोर बनाएर अदालत पुर्‍याउने काम भइरहेको जनाएका छन्।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता केसीले मुख्य दोषीलाई उम्काउन भष्टाचारका मुद्दा कमजोर बनाएर अदालत पुर्‍याएको आरोप लगाएका हुन्।

उनले भ्रष्टाचारका मुख्य दोषीलाई उन्मुक्तिको मार्ग प्रशस्त गर्ने गतिविधिले राज्यमा दण्डहिनतालाई बढावा दिएको र जनतामा आक्रोश बढाएको जनाए ।

‘महाभ्रष्टाचारका मुद्दाहरूमा सिथिलता आउन थालेको, मुद्दा कमजोर  बनाएर अदालत पुर्‍याएको,अपराधीहरूलाई माफी दिने लर्को चलेको,भ्रष्टाचारका मुख्य दोषीलाई उन्मुक्तिको मार्ग प्रशस्त गर्ने गतिविधिले राज्यमा दण्डहिनतालाई बढावा दिएको र जनतामा आक्रोश बढाएको छ,’उनले भने,’ सत्यतथ्य के हो, सबैले सुसूचित हुन पाउनुपर्छ ।’

नेताहरू पार्टी कब्जाको होडमा रहेपनि जनताहरू टाढा हुँदै गएको उनले जनाए । उनले भने,’आमअसन्तुष्टि र निरासा मात्र होइन जनआक्रोशले विकल्पको बाटो खोज्दैछ । विश्वविद्यालयहरू थपिइरहेका छन्, तर विद्यार्थीहरू पढ्नका लागि विदेशिने संख्या अत्यधिक बढेको छ । शैक्षिक क्षेत्रमा गुणस्तरको विकास र आजको तिब्र राजनीतीकरणलाई नियन्त्रण गर्दै शिक्षकहरूको पेशागत सम्मान  र सुरक्षाको सुनिश्चितता दिनु आवश्यक छ ।’

नेता केसीले भ्रष्टाचार छानविनमा संलग्न प्रहरी अधिकृतहरूको सरुवा र काठमाडौं जिल्ला अदालतका एकजना न्याायाधीशलाई भ्रष्टाचारको मुद्दामा थुनाको आदेश दिएकै कारणले अन्यत्रै सरुवा गरिएको भन्दै आक्रोश पोखे।

अन्तर्राष्ट्रिय समुदायमा नेपालको विश्वसनीयता र साख गुम्दै गएको भन्दै चिन्ता व्यक्त गरे।  ऋणको भारी र भ्रष्टाचारको महामारीले देश आक्रान्त बनेको भन्दै उनले  महासमिति बैठकले आगामी दिनको आर्थिक खाका सम्बन्धी स्पष्ट धारणा बनाउनु जरुरी रहेको औंल्याए।

जातीय, धार्मिक र साम्प्रदायिक सद्भावमा चुनौती बढिरहेको र यसले समाज अराजकताको चरम अवस्थातिर उन्मुख भइरहेको उनको भनाइ छ। नेता केसीले संविधान उल्लङ्घनका घटनाहरू गम्भीर रुपमा बढिरहेको जनाए । उनले सिराहालगायत देशका विभिन्न जिल्लाबाट आएका पार्टी संगठनसम्बन्धी विवादका मुद्दा अझै थाती रहेको भन्दै छिटो समाधान गर्न माग गरे।

पार्टीका भातृसंस्था र केन्द्रीय विभागहरूको समस्या यथावत रहेको बताए। भातृसंस्थाहरूको ६ महिनामा विधिवत अधिवेशन गर्न समेत उनले माग गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here