अण्डर-१९ महिला साफ च्याम्पियन २०२४ को उपाधि बंगलादेश र भारतले संयुक्त रुपमा जितेका छन्। बंगलादेशमा बिहीवार राति भएको प्रतियोगिताको फाइनल खेलको नतिजाको आधारमा दुवै टोलीलाई संयुक्त रुपमा विजेता घोषणा गरिएको हो।
निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा पनि दुवै टोलीले समान ११-११ गोल गरेपछि रेफ्रीले टसमार्फत खेलको नतिजा निकालेका थिए ।
टसका आधारमा भारतलाई प्रतियोगिताको विजेता घोषणा गरिएको थियो । तर बंगलादेशले रेफ्रीको निर्णयमा असहमती जनाएपछि नतिजा विवादीत बनेको थियो । त्यसपछि रेफ्रीले अन्तिममा दुवै टोलीलाई संयुक्त विजेता घोषणा गरेको हो ।
गत संस्करणको फाइनलमा नेपाललाई हराउँदै बंगलादेशले उपाधि जितेको थियो। यस पटक भने नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताको लिग चरणबाटै बाहिरीएको थियो ।

















