काठमाडौं । एएफसी एसियन कप फुटबल २०२३ को उपाधि घरेलु टोली कतारले जितेको छ ।
शनिबार राति घरेलु मैदानमा सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारले उपाधि जितेको हो ।
यससँगै कतार लगातार दोस्रो पटक एसियन कपको च्याम्पियन बन्न सफल भएको छ ।
कतारको जितमा अक्रम अफिफले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरे । यता याजन अल नैमतले जोर्डनका लागि एक गोल फर्काए पनि टोलीको हारलाई टार्न सकेनन् ।
२२ औं मिनेटमा अफिफले पेनाल्टी गोलबाट कतारलाई अग्रता दिलाएका थिए । ६७ औं मिनेटमा याजनले जोर्डनका लागि बराबरी गोल फर्काएका थिए ।
तर ७३ औं मिनेटमा अफिफले पेनाल्टी मार्फत नै व्यक्तिगत दोस्रो गोल गर्दै कतारलाई २-१ को अग्रता दिलाएका थिए ।
त्यसपछि पुनः खेलको इन्जुरी समयमा पाएको पेनाल्टीको सदुपयोग गरि अफिफले ह्याट्रिक पुरा गर्दै कतारलाई एसियन कपको उपाधि दिलाए ।
कतारले २०१९ मा जापानलाई ३-१ ले पराजित गर्दै पहिलो पटक उपाधि एसियन कपको उपाधि जितेको थियो ।

















