विराटनगर । विराटनगरमा आयोजना गरिने नेकपा एमालेको पहिलो कोशी प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । शुक्रबारबाट सुरु हुने अधिवेशनको तयारी पुरा भएको हो । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।
दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको तयारी पुरा भएको प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले जनाए । तर प्रतिनिधि छनोटको विवाद भने कायम नै छ । पालिका र जनवर्गीय संगठनबाट ९९७ जना प्रतिनिधि छनोट भएर विराटनगर आइपुगेका छन् ।
मनोनित भए अधिवेशनमा सहभागि हुने प्रतिनिधिको संख्या १०४७ हुनेछ । प्रदेश कमिटीले प्रतिनिधि छनोट गर्दा एक पक्षीय हुने र विवाद हुने देखिएपछि यो प्रकिया रोक्न आग्रह गरिएको एमाले मोरङका एक नेताले जनाए।
अधिवेशनका बारेमा जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा पार्टी प्रदेश इञ्चार्ज रघुवीर महासेठले अधिवेशनले पार्टीको आन्तरिक जीवन व्यवस्थित गर्ने र मुलुकको समस्या समाधान पहल गर्ने बताए ।
नेकपा एमाले भित्र विवाद सृजना गरेर कमजोर बनाउनका लागि देशी र विदेशी शक्ती सक्रिय भएर लागि परेको उनले जनाए । उनले पार्टी भित्र नेतृत्वका विषयमा कुनै विवाद नरहेको जनाए ।

















