काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्र बलियो बनाउनमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनका संस्थापक अध्यक्ष विश्वनाथ अधिकारीको १२औँ पुन्यतिथिमा प्रेस युनियन चितवन शाखाले शनिबार काठमाडौंमा आयोजना गरेको शोकसभामा नेता केसीले पत्रकारितामार्फत सत्यतथ्य सूचना सम्प्रेषण गरी लोकतन्त्रलाई बलियो बनाउन सहयोग पुर्याउने बताए।
नेता केसीले पत्रकारिताको माध्यमबाट सञ्चारकर्मीले मुलुकको परिवेशको उजागर गरेकोमा प्रसंशा गर्दै आगामी दिनमा लोकतन्त्रको पक्षमा कलम चलाउन आग्रह गरे ।
नेपाल प्रेस युनियनका निवर्तमान वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले चितवनमा पत्रकारिताको माध्यमबाट भएको परिवर्तनमा स्वर्गीय अधिकारीको ठूलो भूमिका रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घकी सचिव सृजना अर्याल, पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस युनियन चितवनका पूर्वअध्यक्ष बसन्त पराजुलीलगायतको सहभागीता थियो । स्वर्गीय अधिकारी चितवनबाट प्रकाशित हुने प्रवाह साप्ताहिकको प्रकाशक तथा सम्पादक थिए । विस २००४ सालमा जन्मिएका अधिकारीको विस २०८० असोज २ गते काठमाडौँमा निधन भएको थियो ।















