पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नभए कडा प्रतिवाद गर्ने चेतावनी

52

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नभए कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै चाडपर्वका समयमा भएको मूल्यवृद्धिमा गम्भीर ध्यानाकार्षण भएको बताएका छन् ।

आम नागरिकको चूल्हो नबल्ने गरि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि स्वीकार नभएको नेविसंघले बताएको छ । ‘खाना पकाउने ग्याससँगै डिजेल, पेट्रोल र मट्टीतेलको भाउको अस्वभाविक मूल्य वृद्धि नेपाली जनताको ढाड सेक्ने गरी कोही कसैबाट पनि भएका निर्णय हामीलाई मान्य हुने छैन ।’

नेविसंघको विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी आर्थिक मन्दीको चेपुवामा निम्न आयमा गुजारा गर्नुपर्ने बाध्यतामा बसिरहेका नेपाली जनतालाई राहत महसुस हुने गरी कार्य गर्ने समय हो । त्यसैले सरकारले हस्तक्षेप गरी तत्काल आयल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न जोडदार माग गर्दछ ।’

अन्तराष्ट्रिय बजारको मूल्य समायोजनको हवाला दिँदै एकोहोरो रुपमा पेट्रोलियम पदार्थ मूल्यवृद्धि गर्नुले सरकार आमजनताको समस्याप्रति जिम्मेवार नभएको प्रष्ट हुने नेविसंले बताएको छ ।

सरकार विद्यार्थी, मजदुर र निम्न आय भएकालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउनु पर्ने आफ्नो दायित्वबाट पन्छिन खोजेको नेविसंघले आरोप लगाएको छ ।

साथै, निगमभित्रको बेथिति र अनियमिततालाई छानविन गरी जनतालाई राहत दिने कुरामा कडाइका साथ लाग्न पनि नेविसंघले सरकारको ध्यानकार्षण गराएको छ ।

साथै, पेट्रोलियम पदार्थमा विभिन्न शीर्षमा लगाइएका करमा पुनर्विचार गर्न पनि नेविसंघले सरकारलाई आग्रह गरेको छ । मूल्यवृद्धि २४ घण्टाभित्र फिर्ता नभए सरकारका विरुद्धमा कडा प्रतिवाद गर्ने नेविसंघको चेतावनी छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here