‘रूपान्तरण अभियान’ का कारण विभाजित

32
काठमाडाैं ।  नेपाली कांग्रेस इतर समूह ‘रूपान्तरण अभियान’ का कारण विभाजित देखिएको छ। समूहका नेता शेखर कोइराला र पर्टीका महामन्त्री गगन थापाबीच मतभिन्नता देखिएको हो। यसले इतर समूहभित्र फेरि प्रष्ट रूपमा दुई खेमा देखिएको छ।

रूपान्तरण अभियान वाग्मती प्रदेशका नाममा आइतबार राष्ट्रियसभा गृहमा ‘१४औं महाधिवेशनको संकल्प–उत्साह, एकता र रूपान्तरण’ विषयक विचार गोष्ठी आयोजना गरियो। कार्यक्रममा महामन्त्री थापा र उनीनिकट नेताहरू उपस्थित हुँदा कोइराला र कोइरालानिकट मानिएका उपसभापति धनराज गुरुङलगायत नेता अनुपस्थित भए ।

कार्यक्रममा नेता कोइराला, उपसभापति गुरुङ, महामन्त्री थापा, युवा नेता प्रदीप पौडेल, अर्जुनरसिंह केसीलगायतको उपस्थिति रहने बताइएको थियो। तर कोइरालाले पार्टीको अनधिकृत ब्यानरमा हुने कार्यक्रममा आफू उपस्थित नहुने भन्दै बहिष्कार गरे। कोइरालासँगै उपसभापति गुरुङ पनि अनुपस्थित रहे। महामन्त्री थापा समूहका मानिएका केसी, पौडेलसहितका नेताहरू भने कार्यक्रममा सहभागी भए।

स्रोतका अनुसार नेता कोइरालाले रूपान्तरण अभियानका मुद्दा जायज भए पनि पार्टीमा विभाजन देखिनेगरी अनधिकृत ब्यानरमा कार्यक्रम गर्न नहुने सुझाव दिएका थिए। ‘उहाँ (शेखर कोइराला) पार्टीभित्र छलफल भइरहेको र महासमिति बैठक आह्वान भइसकेको अवस्थामा विधिविपरीत अनधिकृत ब्यानरमा कार्यक्रम गर्नु हुन्न भन्ने पक्षमा हुनुहुन्छ।

उहाँले निम्ता आउँदा नै त्यसरी नगरौं भन्नुभएको थियो,’ निकट एक नेताले भने, ‘तर साथीहरूले मान्नुभएन। सायद महामन्त्रीको साथ पाएर होला। आफूले भनेको नमानेपछि कोइराला कार्यक्रममा नजानुभएको हो।’

कोइरालाले बरु पार्टीका आधिकारिक ‘प्लेटफर्म’बाट यस्तै प्रकृतिको छलफल गर्न सुझाव दिएको ती नेताले बताए। कोइरालाको सुझाव रूपान्तरण अभियानको संयोजन गरिरहेका नुवाकोट कांग्रेसका पूर्वसभापति जगदीश्वरनरसिँह केसीले मानेनन्।

‘आफ्नै नेतृत्वमा रूपान्तरण अभियानको ब्यानरमा कार्यक्रम गर्ने केसीको ढिपीले समूहभित्र दुईमत देखियो,’ कोइरालानिकट ती नेताले भने।

इतर समूहका शीर्ष नेताभित्रै मतभिन्नता देखिएपछि रूपान्तरण अभियानका नेताहरूबीच पनि फाटो देखिएको छ। अभियानका एक नेताले कोइरालाको सुझाव जायज रहेको बताए। ती नेताले भने, ‘विधि, पद्धतिका कुरा गर्नेले आफू पनि त्यसैअनुरूप चल्नुपर्छ भन्ने शेखर कोइरालाको धारणा जायज हो। सही मुद्दामा पार्टीका आधिकारिक निकायबाटै बहस चलाउनुपर्छ भन्ने उहाँको तर्क ठिक छ।’

वाग्मतीमा केसी परिवारको ढिपीले नसकिए पनि अन्य प्रदेशमा भने पार्टीका आधिकारिक निकायबाटै रूपान्तरण अभियान चलाइने ती नेताले बताए। ‘यहाँ उहाँहरू (केसी परिवार) को चल्यो, अन्य प्रदेशमा हाम्रो चल्छ। वडा समितिबाटै भए पनि यो अजेन्डामा छलफल चलाएर सबै नेतालाई समेट्ने कोसिस गर्छौं।’

रूपान्तर अभियानको नेतृत्व गरिरहेका नुवाकोट कांग्रेसका पूर्वसभापति केसीले मतभिन्नताका कारण कोइराला र उपसभापति गुरुङ कार्यक्रममा उपस्थित नभएको भन्ने भनाइ तथ्यहीन भएको दाबी गरे। उनले भने, ‘म बिहानै गएर शेखर दाइलाई भेटेको छु। उहाँ बिरामी भएर आउन सक्नु भएन। उपसभापतिको पूर्वनिर्धारित कार्यक्रम भएर बाहिर जानुभएको हो।’

रूपान्तरण अभियान नुवाकोट कांग्रेसका पूर्वसभापति केसी, केन्द्रीय सदस्य मधु आचार्य, गोविन्द पोखरेल, नेताहरू गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, भरत खड्कालगायत इतर समूहका तेस्रो तहका नेताहरूले चलाइरहेका छन्। यो अभियानले पार्टी रूपान्तरणका नाममा नेतृत्वको अनुचित आलोचना गर्दै हिँडेको आरोप पनि खेप्दै आएको छ।

‘सरकार छाडौं,मोर्चालाई चलाउन दिऔं’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजवादी मोर्चालाई सरकार चलाउन दिएर कांग्रेसले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने बताएका छन्। कांग्रेस रूपान्तरण अभियान वाग्मती प्रदेशद्वारा आइतबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले दुई/अढाई वर्ष समाजवादी मोर्चालाई नै सरकार चलाउन दिनुपर्ने बताएका हुन्।

‘समाजवादी मोर्चा बनाएर दुई/अढाइ वर्ष उहाँहरूले सरकार चलाउने भन्ने कुरा छ,’ थापाले भने, ‘पहिले दाहाल र त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने छ। उहाँहरूले मोर्चा र पार्टी एकै बनाउने पनि भन्नुभएको छ। मलाई लाग्छ कांग्रेसका सबै मन्त्री फिर्ता बोलाऔं, दुई/अढाइ वर्ष उहाँहरूलाई सरकार चलाउन दिऔं। हामी फ्लोरबाट समर्थन गरौं।’

त्यसपछिको सरकार कांग्रेसले एक्लै चलाउन पाउनुपर्ने महामन्त्री थापाले बताए। उनले भने, ‘त्यसपछि कांग्रेसले एक्लै सरकार चलाउँछ, जस, अपसज जे भए पनि कांग्रेसले लिन्छ। होइन भने त काम नै नहुने भयो।’ अहिले कांग्रेस सरकारमा भएजस्तो अनुभूति नभएको पनि थापाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here