गण्डकी । बिहीबार बिहानैदेखि हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजारमा स्थानीयवासीको राम्रै चहलपहल थियो । परम्परागत थकाली पोशाकमा सजिएका थकाली समुुदायका महिला तथा पुुरुष घरपझोङ गाउँपालिकाको आयोजनामा बिहानैदेखि कृषि तथा पर्यटन मेलाको तयारीमा जुुटिसकेका थिए । चिसोको प्रवाह नगरी मेलालाई लक्षित गरी तयारी गरिएको झाँकी, घोडचढीहरूको चहलपहललाई मुुस्ताङ भित्रिएका स्वदेशी एवं विदेशी पर्यटकले पनि उत्सुकतापूर्वक नियालिरहेका थिए ।
महोत्सवमा व्यापारिक कक्ष राखेको जोमसोम महिला लघु उद्यमी समूहले आफ्ना उत्पादन बिक्री एवं प्रदर्शनीका लागि राखेको मीना शेरचनले बताइन् । “हामीले समूहबाटै उत्पादित जाम, माडा, स्याउको सुकुटी आदि व्यापार एवं प्रदर्शनीका लागि राखेका छौँ”, उनले भनिन्, “समूह भर्खर–भर्खरै कृषिजन्य उत्पादनको प्रशोधन एवं ब्रान्डिङमा लागेकाले हामीलाई तालिम आवश्यक छ ।”
यहाँ राखिएका विभिन्न कक्ष उद्यमशीलताको विकासका लागि जान्न र बुझ्न चाहनेका लागि बहुुउपयोगी बनेको स्थानीयवासीले बताए । महोत्सवमा सिरिघाङ कृषक समूहले आफ्ना समूहबाट उत्पादित उवाको सातु, हरियो केराउ, फापरको पीठो, टिमुरको छोपजस्ता वस्तु प्रदर्शनी एवं बिक्रीमा राखिएको छ । एघार जना स्थानीय आबद्ध भई आफूहरूले समूहमार्फत कृषिजन्य उत्पादन बढाउँदै त्यसको बजारीकरणमा जुटेको समूहका अध्यक्ष निमकुमारी शेरचनले बताइन् ।
आफूहरूले गाउँघरमा यसअघि गर्दै आएका कृषिकर्मलाई समूहमार्फत सङ्गठित गर्दै अघि बढाउँदा त्यसले प्रत्येकलाई थप प्रोत्साहित गराउने गरेको समूहका सदस्य छिरिङ गुरुङले बताए । महोत्सवमार्फत मौलिक संस्कृति एवं कृषिजन्य उत्पादनको बजारीकरणमा महत्त्वपूर्ण सहयोग पुगेको उनले बताए ।
महोत्सवमा ठिनी सामुदायिक घरबास (होमस्टे)ले थकाली संस्कृतिमा आधारित विभिन्न खाद्यवस्तुको व्यापारिक कक्ष राखेको छ । फापरले बनाएको झिनुवालगायतका विभिन्न परम्परागत हिमाली खाद्यवस्तु राखिएको होमस्टेका सदस्य निरज थकालीले बताए ।
“महोत्सवमा राखिएका कृषिजन्य उत्पादन, बन्ने परिकार आदिले यहाँको मौलिकतालाई उजागर गरेका छन्”, उनले भने, “तीनदिने यो मेला यहाँको कृषि र पर्यटनको प्रवर्द्धनका लागि महत्त्वपूर्ण बन्ने विश्वास लिएका छौँ ।”
पर्यटनको विकासका लागि स्थानीय कृषिजन्य उत्पादनलाई जोड्नुु अपरिहार्य हुने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका अधिकृत सागर श्रेष्ठले बताए। “पर्यटनलाई लक्षित गरी उत्पादन पनि बढाउनुु आवश्यक छ”, उनले भने, “कृषि र पर्यटनलाई सँगसँगै बढाउन सकेमा यसले दिगो पर्यटनलाई महत्त्वूर्ण टेवा पुर्याउँछ ।”


















